सचिव अर्यालको नेतृत्वमा जाजरकोट र रूकुम पश्चिममा राहत सामग्री वितरण

काठमाडौं । नेकपा (एमाले) बाँके र बर्दिया जिल्ला कमिटीले भूकम्प प्रभावित जाजरकोट र रूकुम पश्चिममा पुगेर राहत वितरण गरेको छ ।
पार्टीका सचिव तथा लुम्बिनी प्रदेश ईन्चार्ज पद्मा कुमारी अर्यालको नेतृत्वमा पोलिट्व्युरो सदस्य तथा राष्ट्रियसभाका प्रमुख सचेतक भैरबसुन्दर श्रेष्ठ , पोलिट्व्युरो सदस्य खेममान खड्का, केन्द्रीय सदस्यहरू भगवती न्यौपाने, शान्ति ढकाल, मोहनमाया ढकाल र पूर्व राज्यमन्त्री विमला बिक, नेकपा (एमाले) बाँकेका अध्यक्ष किस्मतकुमार कक्षपति र बर्दियाका अध्यक्ष लालबहादुर श्रेष्ठसहितको टोली जाजरकोट र रूकुम पश्चिममा पुगेर राहत वितरण गरेको हो ।

जाजरकोटमा ३५० थान ब्लाङ्केट, चारसय बोरा चामलसहित चाउचाउ, दाल र तीन लाख रुपियाँ बराबरको लत्ताकपडा राहतका रूपमा वितरण गरिएको सचिव अर्यालले जानकारी दिनुभयो ।

यस्तै, रूकुम पश्चिममा १५० थान ब्लाङ्केट, एकसय क्विन्टल चामल र केही नगद राहत वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालय, नगरपालिका र नेकपा (एमाले) का स्थानीय कमिटीको रोहबरमा राहत सामग्री हस्तान्तरण गरिएको सचिव अर्यालले बताउनुभयो ।

टोलीले भूकम्पले पुर्याएको क्षतिको निरीक्षण समेत गरेको थियो । क्षतिको निरीक्षण गर्दै पीडितको घर पुनर्निर्माणका लागि एमालेले स्वयंसेवकीय भूमिका निर्वाह गर्ने प्रतिवद्वतासमेत व्यक्त गरेको सचिव उहाँले जानकारी दिनुभयो । यसैगरी पार्टीका केन्द्रीय सदस्य निरज अचार्य भूकम्प गएको भोलिपल्टै जाजरकोट पुगी भूकम्प पीडितको उद्धार र राहतमा निरन्तर जुट्नुभएको छ ।

 

यसैबीच, नेकपा (एमाले) गण्डकी प्रदेशसभाका सदस्यहरूले आफ्नो एक साताको तलब भूकम्प पीडितका लागि प्रदान गर्नुहुने भएको छ । नेकपा (एमाले) संसदीय दलको बैठकले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि दुई लाख ७९ हजार रुपियाँ सहयोग गर्ने निर्णय गरेको हो । दलका २१ जना सदस्यको एक हप्ताको पारिश्रमिक रकम राहत कोषमा दाखिला गर्ने निर्णय गरेको संसदीय दलका नेता खगराज अधिकारीले जानकारी दिनुभयो ।

आफूहरूले सुरुवात गरेको र पार्टीले पनि सहयोग सङ्कलन गर्न सक्ने भएकाले तत्काललाई एक हप्ताको मात्रै पारिश्रमिक पठाउन लागेको जानकारी उहाँले दिनुभयो ।

यसैगरी, नेकपा (एमाले) बागमती प्रदेशको संसदीय दलले पनि जाजरकोट र रूकुम पश्चिमका भूकम्प पीडितका लागि सहयोग रकम उपलब्ध गराउने भएको छ । भूकम्पबाट प्रभावित नागरिकलाई सहयोगार्थ पाँच लाख ७० हजार रुपियाँ उपलब्ध गराउने निर्णय गरिएको नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले जानकारी दिनुभयो ।

एमाले संसदीय दलको तर्फबाट प्रदेश सभा सदस्य तथा पदाधिकारीहरूको १२ दिनको तलब बापतको रकम सरकारको राहतकोषको खातामा जम्मा गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।


Add Comment