वर्तमान गठबन्धन असफल भैसक्योः महासचिव पोखरेल

(जिरी) दोलखा । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वर्तमान गठबन्धन असफल भइसकेको बताउनुभएको छ ।
दोलाखको पर्यटकीय नगरी जिरीमा प्रेस चौतारी नेपाल दोलखाले शुक्रबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा महासचिव पोखरेलले कोही गठबन्धनबाट बाहिर आउन चाहे एमालेले साथ दिने नीति लिएको बताउनुभएको छ । सोही नीति अनुसार एमालेले कोशी प्रदेशमा केदार कार्कीलाई समर्थन गरेको उहाँको भनाइ छ ।

नेपाली कांग्रेसले आफ्नो खुट्टामा उभिने सामर्थ्य जुटाउन नसक्दा देश राजनीतिक अस्थिरतामा फसेको महासचिव पोखरेलले बताउनुभयो ।
वर्तमान सरकारले कालोबजारी, तस्करीतन्त्र र कमिसनखोरीलाई बढवा दिँदा मुलुको वैधानिक अर्थतन्त्र कमजोर र अवैधानिक अर्थतन्त्र बलियो भएको बताउँदै उहाँले भन्नुभयो– तस्करीकै कारणले नेपाली बजारबाट रुपैयाँ पैसा गायव भएको हो । जुन कुरा सुन तस्करी काण्डबाट पुष्टी भएको छ ।

गठबन्धन सरकारका कारण यतिवेला मुलुक चरम आर्थिक सङ्कटमा परेर साधारण खर्च समेत जुटाउन नसक्ने अवस्थामा पुगेको र विकासका काम ठप्प भएको महासचिव पोखरेलको भनाइ छ । पछिल्लो समय धर्म र जातीका नाममा मौलिक संस्कृतिमाथि प्रहार भइरहेको भन्दै उहाँले मौलिक संस्कृतिको विघटन भइरहेकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।

महासचिव पोखरेलले राष्ट्रिय हित प्रवर्द्धन र सुरक्षासमेत गम्भीर अवस्थामा पुगेको बताउनुभयो । छिमेकी चीनसँगको सम्बन्ध जुन तहमा विकास हुनुपर्ने हो त्यो कुरामा प्रधानमन्त्री पुष्पकमल दाहाल चुक्नुभएको उहाँको भनाइ छ ।
महासचिव पोखरेलले सङ्क्रमणकालीन न्यायको विषयमा सरकार र प्रधानमन्त्री दाहाल गम्भीर नरहेको बताउनुभयो ।


राजनीतिक अस्थिरताको कारण विदेशी चलखेल
महासचिव पोखरेलले शुक्रबारै जिरीमा नेकपा (एमाले) दोलखाले आयोजना गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रम उद्घाटन गर्नुहुँदै नेपालमा देखिएको राजनीतिक अस्थिरताको कारण राजनीतिक दलको कमजोरीमात्र नभई विदेशी चलखेल मुख्य रहेको बताउनुभयो ।
समकालीन राजनीतिमा अध्यक्ष केपी शर्मा ओली जति चलायमान र दूरदर्शी नेता कोही नभएको उल्लेख गर्नुहुँदै महासचिव पोखरेलले विकास र समृद्धिको लागि राजनीतिक स्थिरता अनिवार्य रहेको र त्यो एमाले नेतृत्वबाट मात्र सम्भव हुने बताउनुभयो ।
नेकपा (एमाले) दोलखाका संयोजक नरबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा पार्टीका पोलिटब्युरो सदस्य पार्वत गुरुङ, केन्द्रीय सदस्य रचना खड्का, बाग्मती प्रदेश कमिटी सदस्य धमेन्द्र मोक्तान र नेकपा (एमाले) दोलखाका सहसंयोजक राजेन्द्र मानन्धरले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
प्रशिक्षक प्रशिक्षण कार्यक्रमका लागि महासचिव पोखरेलसंगै स्थायी कमिटी सदस्यहरू संगठन विभाग प्रमुख काशिनाथ अधिकारी, बाग्मती प्रदेश इन्जार्च गुरु बराल, जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल, परराष्ट्र मामिला विभाग प्रमुख राजन भट्टराई, पोलिटब्यूरो सदस्य इश्वरी रिजाल र सुजिता शाक्य, केन्द्रीय सदस्य सरस्वती वस्नेत, बाग्मती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुङ्गेल, सचिव नवराज सिलवाल लगायतका नेताहरू जिरी पुग्नुभएको छ । प्रशिक्षक प्रशिक्षण कार्यक्रममा जिल्लाभरिका ६० जना कार्यकर्ताको सहभागिता रहेको छ ।


Add Comment