म लड्दै, उठ्दै र धूलो टकटक्याउँदै अघि बढेको मानिस -केपी शर्मा ओली, अध्यक्ष

‘हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा’ बोलको गीत म अहिले पनि खुबै सम्झन्छु । धर्मराज थापाले गाएको यो गीत किशोरवयमा हामी गाउने प्रयास पनि गर्थ्यौं, किनकि त्यो निकै लोकप्रिय र आकर्षक थियो । केटाकेटी हुँदादेखि नै सुनेको उक्त गीत मेरा निम्ति प्रेरणादायी र गौरवपूर्ण बनेर रहेको छ । तेन्जिङले एडमन्ड हिलारीलाई लिएर संसारकै सर्वोच्च शिखर सगरमाथा पहिलो पटक चढ्ने सफलता पाए ।
किशोर अवस्थामा दार्जिलिङ घुम्न जाँदा त्यहाँ तेन्जिङले सगरमाथा आरोहण गरेको सन्दर्भयुक्त संग्रहालय हेर्न पाएँ । त्यसपछि उनले कसरी सगरमाथा आरोहण गरे होलान् भनेर ममा उत्सुकता बढ्यो । नेपाल फर्केर आएपछि त्यो जिज्ञासा झनै बढ्न थाल्यो । केही समयपछि नै सगरमाथा चढ्ने तेन्जिङबारे सुन्ने र पढ्ने मौका पाएँ । तेन्जिङ लेकका मानिस भएकाले उक्त प्रख्यात गीतको लय स्थानीय स्वादमै बनाइएको रहेछ भन्ने थाहा भयो ।

उनलाई विश्वकै चुचुरो आरोहण गर्न कत्ति कठिनाइ भयो होला भनी म कल्पन थालें । उनी चुचुरोतिरको यात्रामा अलिकति माथि चढ्थे, फेरि तल झर्थे, फेरि प्रयत्न गर्थे, पुनः तल खस्थे । शरीरको कुनै त्यस्तो अंग थिएन, जसमा चोट नलागेको होस् । कुहिना, घुँडा, चिउँडो, निधार जताततै चोट । ती चोटहरूमा मल्हमपट्टी लगाउँदै चढाइलाई निरन्तरता दिएकै कारण तेन्जिङ चुचुरोमा पुग्न सफल भएका हुन् ।
मानिसले जीवनको एउटा तहमा पुगेपछि राम्ररी बुझ्न थाल्छ, जुनसुकै काम गर्दा पनि लड्ने सम्भावना हुन्छ । सफलतासँगसँगै असफलता यात्रा गरिरहेको हुन्छ । असफल भइन्छ भनेर कुनै काम नगर्ने हो भने त्यो काममा सफलता पाउने सम्भावना बिलकुलै रहँदैन ।
लडिन्छ भनेर कुनै खेलाडी खेलमैदानमा प्रवेश गर्दैन भने ऊ सफल हुन सक्दैन, खेलाडी नै हुन सक्दैन । घोडा चढ्ने मानिस लडिन्छ भनेर डरायो भने के होला ? साइकल चढ्दा पनि लड्ने सम्भावना छÙ अब लडिन्छ भनेर सुरुमै डरायो भने त्यो व्यक्तिले साइकल जीवनमा कहिल्यै सिक्दैन । अझ मुक्केबाजको कुरा गरौं त, कुटाइ खाइन्छ वा घाइते भइन्छ भनेर कुनै मुक्केबाज मैदानमै उत्रिएन भने के होला ? उसले कुटाइ खान्छ, घाइते हुन्छ तर उठ्छ, ऊ पछारिएर बसिरहँदैन । यसरी मेरो बुझाइमा पछारिनु अनुभवको स्रोत हो, ज्ञानको स्रोत हो । म पछारिएपछि नै उठ्न–हिँड्न र दौडन सिकिन्छ भन्ने मान्यता बोकेको मानिस हुँ । हिँड्दै गरेको मानिस लडेपछि नै उसलाई प्राप्त अनुभवका कारण पुनः नलड्ने बन्छ ।

मलाई सम्झना छ, बाल्यकालमा झुम्राको बल बनाएर खेल्दा खुट्टा त्यो बलमा नलागेर भुइँमा जोतिन्थ्यो । त्यसबाट औंला, नङ, पैतालामा चोट लाग्थ्यो । यसबाट मैले अनुभवहरू सफलताबाट मात्र होइन, असफलताबाट पनि प्राप्त हुन्छन् भनेर सिकें । अझ बढी अनुभव त असफलताबाटै मिल्छ ।

राम्रा विद्यालयमा पढ्न पाउनु, पाठ्यपुस्तक बेलैमा हात पर्नु अनि अनुत्तीर्ण नभई अघि बढ्नुलाई मानिसहरू सफलता मान्लान् । तर परीक्षामा असफल भएर पुनः पढ्न थालेका मानिस जब सफल हुन्छन्, तिनले आफूले पढेका कुरा कहिल्यै बिर्संदैनन् । कहिलेकाहीँ प्राकृतिक रूपले पनि मानिसलाई असफलता हात लाग्न सक्छ, भनेजस्तो नहुन सक्छ । हाम्रो देशमा भुइँचालो, बाढीपहिरोजस्ता प्राकृतिक प्रकोपको सम्भावना बढी छ । त्यो मानिसको वशमा हुँदैन, समाज नै पछारिन्छ त्यस बखत । तर त्यहाँबाट उठ्नु, धूलो टकटक्याउनु, हिलो पुछ्नु र जीवनलाई पुनः लयमा फर्काउनु बुद्धिमानी हुन्छ । असफलता भोग्दै, त्यसबाट राम्ररी पाठ सिक्दै हिँडेको मानिस ज्यादा अनुभवी हुने देख्छु म । भनिन्छ नि, असफलता नै सफलताको जननी हो ।

म जीवनमा उद्देश्य बोकेर हिँडेको एक यात्रु हुँ । यसरी हिँड्दा म पटकपटक लडेको छु । तर लड्दा अब उठ्नै पो सक्दिनँ कि भन्ने सोच मैले कहिल्यै आफूमा आउन दिइनँ र लडेकै ठाउँबाट जुरुक्क उठेर हिँड्दै आजको अवस्थामा आइपुगेको छु । मैले भनिसकें, पछारिँदा अनुभव र ज्ञान प्राप्त हुन्छ, तर पछारिएकै अवस्थाचाहिँ त्यति मीठो हुँदैन । पछारिँदाको अनुभूति पीडादायी हुन्छ । पछारिँदा चोटपटक लाग्छ, शरीरमा लागेको त्यस्तो घाउको असर मस्तिष्कसम्म पनि पुग्छ । शरीरको चोटको असर मस्तिष्कसम्म नपुगोस् भनेर औषधि प्रयोग गरिन्छ, ठूलो घाउ छ भने एनेस्थेसिया पनि दिइन्छ । तर मानिस कुनै औषधि वा एनेस्थेसिया बोकेर पछारिन जाँदैन र अब म पछारिन्छु भन्ने सोचेर पनि कुनै काम गर्दैन । यो त जीवनमा आकस्मिक रूपमा आइलाग्ने घटना हो । यहाँ पछारिनुलाई सांकेतिक रूपमा लिइएको छ, जुन भुइँमा लड्नु होइन, काममा असफल हुनु हो । यस्तो अवस्था निकै पीडादायक हुन्छ ।

जेल पर्दा मलाई लाग्थ्यो— म शत्रुको दुर्व्यवहारमा पर्छु । मलाई तिनले मार्न पनि सक्थे; सजिलोसँग होइन, तड्पाई–तड्पाई । त्यस बखत अब आफूले सीमातीत यातना सहनुपर्छ भन्ने मलाई लाग्थ्यो । किनकि, म निर्मम शत्रुहरूको हातमा परेको थिएँ । उनीहरूले म पक्राउ परेको दिनदेखि नै त्यस्तै व्यवहार देखाउन थालिसकेका थिए । अब यिनले मलाई मार्छन् भन्ने सोचिरहेका बखत पिटाइ खानु त सामान्य भइहाल्यो । पिटाइ पीडादायी त हुन्थ्यो नै, तर कुन हदसम्मको सजाय हुन सक्छ मलाई भन्ने सोचको पराकाष्ठाले त्यो पिटाइ कम लाग्थ्यो ।

राजनीति गर्ने मानिस पछारिनु भनेको गिरफ्तार हुनु पनि हो । गिरफ्तार पर्नु, त्यो पनि निरंकुश राज्यव्यवस्था चलिरहेका बखत ! कस्तो सजाय हुन सक्छ भन्ने सोच मात्रैले पनि कहाली लाग्थ्यो; त्यस्तो अवस्थामा कुटपिट, घाउचोटजस्ता कुरा अति सामान्य लाग्ने भैहाले । बाँचेकै छु भन्दा पनि आनन्द लाग्ने । बाँचिराख्दा नै त हो परिस्थिति परिवर्तन गर्न सकिने ! बाँचिराख्दा नै त हो पछारिएको विन्दुबाट पुनः उठ्न सकिने !

कहिलेकाहीँ हामी जुन घटना घटेकै छैन त्यसमा ज्यादा सोचेर आफैं पीडित हुने काम गर्छौं । कुनै पनि घटना, जुन भएकै छैनन्, तिनका बारेमा पहिले नै सोचेर पीडित हुने काम ठीक होइन । केही पनि नभएको मानिसले म

बिरामी हुन्छु कि भनेर चिन्ता गर्‍यो भने ऊ बिरामी पर्ने सम्भावना अधिक हुन्छ । यो मानसिक रोग पनि हो । तर मानिलिऔं बिरामी नै भइयो, किन चिन्ता गर्ने ? के त्यसको उपचार छैन र ? हामीले के बुझ्नुपर्‍यो भने, बिरामी हुनुको अर्थ मरिहाल्नु होइन । बिरामी निको हुन्छ भन्ने अपेक्षाका साथ हामी अघि बढ्नुपर्छ ।

म आफैं धेरै पटक बिरामी परेर पछारिएको मानिस, तर कहिल्यै निराश भइनँ । कैयौं पटक शल्यक्रिया भयो, अस्पताल बसियो । म यस्तो समयमा के सोच्छु भने, यी अस्पताल र चिकित्सक भनेकै हामीलाई रोगले पछारेका बेला उठाउने तत्त्व हुन् । नत्र किन चाहियो डाक्टर ? किन चाहियो अस्पताल ? किन कसैले चिकित्साविज्ञानमा विशेषज्ञता र ‘सुपर’ विशेषज्ञता हासिल गर्छ ? यही रोग लागेको मानिसलाई निको पार्न हैन र ? अस्पताल जानु घाट जानु त होइन नि ! म जबजब उपचार गर्न अस्पतालतिर जान्छु, तबतब निको हुने आशा लिएर जान्छु ।

मैले दोस्रो पटक मृगौला प्रत्यारोपण नेपालमै गरें । मृगौला फेर्न जाँदै गर्दा मैले भनेको थिएँ— म त्यसै जानेवाला छैन, निको भएर आउनेछु । हो, अपरेसन असफल भएको अवस्थामा केही वर्षपछि बेहोर्नुपर्ने अवस्था मैले अलि चाँडै भोग्नुपर्थ्यो । हाम्रा पितापुर्खा सबैसबैले त्यही नियति भोगे, मैले पनि भोग्नुपर्छ— सत्य यही हो । त्यसैले म रोगलाई लिएर कहिल्यै निराश भइनँ ।

फेरि अर्को कुरा, मृगौला फेर्नका लागि पो अस्पताल जाँदै थिएँ, मर्न त जाँदै थिइनँ नि ! त्यहाँ विशेषज्ञ डाक्टर थिए, अस्पतालमा सबै सुविधा थियो । आजको दुनियाँमा औषधि विज्ञानमा यति धेरै विकास भइसकेको छ कि, मान्छे रोग लागेर हत्तपत्त मर्दैन । त्यसैले म कहिल्यै निराश भइनँ, मृगौला फेरेपछि मलाई राम्रो हुन्छ भन्ने विश्वास थियो । केही मानिसले कामना गरे होलान्— यो मरे हुन्थ्यो । तर त्यस्ता कामना कसरी पूरा होलान् र ! हामी सबैलाई थाहा छ, यो संसारमा अमर त कोही पनि छैन । जब म बिरामी हुँदा ओछ्यानमा पछारिन्छु, जतिसक्दो चाँडो जुरुक्कै उठ्ने र आफ्नो उद्देश्यतिर लाग्ने अपेक्षा बलियो हुन्छ मभित्र ।

तर म आफू बिरामी हुँदा सोच्ने तरिका र अरू कोही आफन्त वा चिनजान र नजिकका मानिस बिरामी हुँदा सोच्ने तरिका फरक हुन सक्छ । म स्वयम् बिरामी हुँदा न निराश हुन्छु न त कहिल्यै आँसु बहाउँछु । तर कोही शुभेच्छुक, शुभचिन्तक वा नजिकका मानिस बिरामी हुँदा मेरा आँखाबाट आँसु बहन पनि सक्छ । यथार्थलाई नबुझेको होइन, तर यहाँ माया र प्रेमले भूमिका खेलेको हुन्छ । हाम्रा अग्रज कथाकार गुरुप्रसाद मैनालीले ‘नासो’ कथामा भन्नुभएको छ— मानिसको पाण्डित्य अरूलाई सुनाउन वा सम्झाउन काम लाग्छ, आफूलाई पर्याप्त हुँदैन । देश, समाज र परिवारका साथै आफूलाई यो मानिस चाहिन्छ भन्ने लागेको बखत, स्नेह गरिएको मानिसका सवालमा मैले माथि भनेका कुरा लागू नहुन वा नमिल्न पनि सक्छन् । म कहिलेकाहीँ कथा–उपन्यास पढ्छुÙ त्यस बखत पनि मेरो आँसु आउँछ । कसैका दुःख देख्दा पनि आँसु बहन्छ । तर त्यही दुःख आफैंलाई पर्दा मेरा आँखाबाट आँसु आउँदैन । हामी मानिस कहिलेकाहीँ भावनामा पनि बहन्छौं । सिनेमा हेर्दा होस् या कथा–उपन्यास पढ्दा भावुक बन्छौं, खुसी पनि हुन्छौं, कहिले रुन्छौं पनि । यो मानवीय स्वभाव हो ।

म राजनीतिक मानिस । यो राजनीतिमा धक्कामुक्का, उछलकुद हुन्छ नै । त्यो मैले पनि धेरै भोग्दै आएको छु । तर मैले बुझेको राजनीति र अहिले समाजमा बुझिएको राजनीति अलि फरक छ । म राजनीतिलाई देश र समाज अनि जनताको सेवा गर्ने बलियो माध्यम मान्छु । राजनीति मेरा निम्ति मानवतावादी कार्य

हो । यस्तो सोचभन्दा ठीक विपरीत मत राख्ने राजनीतिकर्मीहरूसँग म ठोक्किन्छु । म ठान्छु, सत्य एउटै हुन्छ, त्यसलाई बंग्याउन सकिँदैन । त्यसैले म सत्यसँग लड्दिनँ । शक्ति भनेको अस्थायी कुरा हो, सत्य चिरस्थायी । म सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने मान्यताको मानिस । यसले अलि बढी भिडन्त गराउने रहेछ । म धेरै सम्झौतावादी मानिस होइन, सत्य स्थापित हुनुपर्छ भन्ने सोचेर आजसम्म हिँडिरहेको छु ।
म अहिलेसम्म पनि शक्ति क्षीण भएको अवस्थामा पुगेको छैन । मलाई शक्तिहीन बनाउन अनेक प्रपञ्च रचिएका छन् । मविरुद्ध वा मलाई पछार्न विभिन्न मोर्चा पनि बनेका छन्, गठबन्धन जन्मेको छ । विभिन्न प्रकारका तारतम्य, जालझेल र नियमविपरीतका खेल खेलिएका छन् । मलाई पछार्न भन्दै गरिएका क्रियाकलापले देशलाई पछारिरहेका छन्, जनतालाई पछारिरहेका छन्, कानुन पछारिएका छन्, न्याय पछारिएको छ । यस्तो अवस्थामा म नपछारिने त कुरै भएन ।

सम्झन्छु, भीष्म पितामहले कुनै गल्ती गरेका थिएनन् । उनी साह्रै सकारात्मक, तटस्थ र युद्धविरोधी प्राणी थिए । अरूको इच्छा पूरा गर्न समर्पित हुन्थे । महाभारतको युद्धको कल्पना उनले गरेका थिएनन् । तर उनले कस्तो यातना पाए, ओहो ! लामो समय शरशय्यामा रहनुपर्‍यो । उनको अपराध के थियो ? आफ्ना प्राकृतिक आवश्यकता त्यागेर आफ्ना बाबुको खुसीका लागि त्याग गर्न अग्रसर बनेका थिए । त्यसैले त हामी अहिले पनि ‘भीष्म प्रतिज्ञा’ शब्दलाई सम्मान गर्छौं ।

नेपाल नामको यो देश ढुंगा–माटोले बनेको र केही मानिस बसोबास गर्ने थलो मात्र होइन । नेपाल ज्ञानको प्रारम्भ भएको देश हो । यस ठाउँबाटै संस्कार, संस्कृति, संगीत, नृत्य, नाटक, काव्य, योग, चिकित्सा, दर्शन, विज्ञान र मानव जीवनलाई कसरी सुखी राख्ने भन्ने चिन्तन आरम्भ भएको हो । हाम्रा पुर्खा त्यस्ता विद्वान् थिए ! पछिल्लो समय नेपाली बहादुर पनि रहेछन् भन्ने संसारले थाहा पायो । तर बहादुरको कुरा मात्रै भयो, विद्वान्को कुरालाई ओझेल पार्ने प्रयत्न गरियो ।

नेपाली समाजको चरित्र नै यस्तो छ कि, कठिनाइ पर्‍यो भने त्यसको सामना गर्ने, क्षति भयो भने बेहोर्ने । समाजलाई नयाँ लय र गति दिँदै अझ नवीन सोचका साथ अघि बढ्ने, नयाँ गन्तव्य र उद्देश्य लिएर हिँड्ने नेपाली समाजको चरित्र रहँदै आएको छ । म पनि त यही समाजको एक पात्र हुँ नि, स्वभावको हिसाबले म यो समाजको प्रतिनिधित्व गर्छु, त्यसैले मभित्र पनि त्यस्तै चरित्र कायम रहनु स्वाभाविक हो ।
हामीले अनेक बाधा–व्यवधान, ज्यादती, आपत्ति भोग्यौं; अहिले पनि केही त भोगिरहेका छौं । हामीले भूकम्प लगायतका प्राकृतिक विपत्ति धेरै भोगेका छौं । देशले सशस्त्र द्वन्द्वका साथै अनेक विपत्ति भोग्नुपर्ने अवस्था फेरि पनि आउन सक्छ, तर देश र जनता पुनः आफ्नो लयमा फर्कनेछन् । आफूलाई सुखी राख्ने प्रयास गर्नेछन्, जीवन सहज बनाउनतिर लाग्नेछन् । सधैं पछारिएकै अवस्थामा त कहीँको मानिस पनि रहँदैन, रहनै सक्दैन । यो गुण हामी नेपालीमा झनै धेरै छ ।

२०७२ सालमा भूकम्पबाट जुन क्षति भयो, त्यसलाई पुनर्निर्माणमार्फत नवनिर्माण गर्न हामी अग्रसर भयौं । सोही समयमा नाकाबन्दीले हामीलाई थप दुःख दियो । तर हामीले घुँडा टेकेर, स्वाभिमान गुमाएर अलिकति सुविधा लिनेभन्दा अर्कै बाटो रोज्यौं । राष्ट्रिय स्वाभिमान जोगायौं । त्यो अवस्था त सधैं रहेन । हामी पुनः उठ्यौं, पछारिएको जमिनबाट टाउको उठाउँदै, धूलो टकटक्याउँदै लयमा फर्कियौं । तर त्यसरी स्वाभिमान जोगाउने सवालमा पनि अनेक बखेडा झिकिए । योचाहिँ अलि दुःखको कुरा लाग्छ मलाई । नेपाली जनता अहिले पनि आफ्नो नागरिक सर्वोच्चताप्राप्तिका निम्ति अग्रसर छन् ।

हामीले समाज र परिस्थितिसँग पनि लड्नुपर्छ । यथास्थितिमा चित्त बुझाउने होइन, त्यसलाई परिवर्तन गर्नका निम्ति अग्रसर हुनुपर्छ । म दुर्गम गाउँमा सामान्य परिवारमा जन्मिएको मानिस । त्यस बखत हामी ‘एक मानाको बन्दोबस्त’ गर्न सक्दा ठूलो कुरा पाएको महसुस गर्थ्यौं । समाज यसैलाई उद्देश्य, गन्तव्य र इच्छा–आकांक्षाका रूपमा बुझ्थ्यो । मैले त्यो अवस्था र परिस्थितिमा चित्त बुझाइनँ । त्यस्तो अवस्थामा रहिरहन हामीलाई बाध्य पार्ने तत्त्व थियो— राज्य । हामीलाई राज्यले सधैं थिचिरहन्थ्यो । मानिसका आशा राज्यले मारिदिएको थियो । त्यस्तो अवस्थामा मेरो ठाउँबाट त्यस बेला कसैले पनि राजनीतिमा जाने कुरा, पदमा पुग्ने सपना देख्नै सक्दैनथ्यो । दुर्गमता र परिस्थितिले सपना देख्नबाट रोकिदिन्थ्यो । त्यस्तो ठाउँबाट म हुर्किंदै आएको हुँ । मसँग न टेक्ने लौरो थियो न त समाउने हाँगो नै ! म आफैं उभिँदै, लड्दै अनि फेरि उठ्दै आजसम्मको यात्रा तय गर्न सफल भएको मानिस हुँ । मेरो राजनीतिक गुरु कोही थिएन । मैले राजनीति पनि आफूले आफैंलाई सिकाउनुपर्थ्यो । सिकाउने कोही छैन भने असफल हुनु स्वाभाविक भइहाल्यो । म नयाँ गन्तव्य खोजिरहेको थिएँ, तर मेरो कोही आदर्श पात्र पनि थिएन । त्यस्तो अवस्थामा नलड्न कहाँ सम्भव थियो र ! लड्दा धूलो, हिलो, मैलो लागिहाल्थ्यो । ती सबै कुरा टकटक्याएर पुनः उठ्दै हिँड्नु मेरा निम्ति अनिवार्य कर्म थियो, किनकि मलाई त्यहाँ पछारिएको ठाउँबाट उठाउने कोही पनि थिएन । मभन्दा अगाडि कोही पनि थिएन । अरू साथीलाई हिँडाउनुपर्ने अवस्था थियो । म कहिल्यै नहिँडेको, नचिनेको बाटो हिँड्ने अभियानमा थिएँ । नलड्नु कसरी ?

म लडेको, ठोक्किएको ठाउँबाट उठ्दै, मौजुदा प्रतिकूल परिस्थितिसँग जुध्दै हिँडेको मानिस । त्यस बखत मेरा दुईवटा माग थिए— पञ्चायतको अन्त्य र राजतन्त्रको अन्त्यसहित लोकतान्त्रिक गणतन्त्र स्थापित हुनुपर्छ । त्यो त भयो । अन्य कतिपय माग र आवश्यकता पूरा हुन सकेनन् होला, त्यो म मान्दछु; तर मैले गन्तव्य तोक्दै हिँडेको यात्रा त पूरा गरेको छु । अब बाँकी भनेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को उद्देश्य पूरा गर्नु हो । हामी अहिले पनि लाखौं नेपाली बाहिर गएर अर्काको देश बनाइदिइरहेका छौं भने आफ्नो देश बनाउन नसक्ने कुरै छैन । यो महान् उद्देश्य पूरा गर्ने क्रममा हामी लड्नु ‘अनिवार्य’ छ, तर लडेको ठाउँबाट उठ्नु ‘अपरिहार्य’ छ ।

साभारः इकान्तिपुर


Add Comment