म किन बोल्छु ? -केपी शर्मा ओली, अध्यक्ष

म आफ्ना विचार प्रकट गर्न र त्यसमा अरूलाई सहमत गराउन बोल्छु । सत्यलाई पनि प्रिय ढङ्गमा कुशलतापूर्वक बोल्न सक्दा नै वाणी प्रभावकारी हुन्छ ।

कुनै पनि कुरा पुष्टि हुने गरी, सप्रमाण बोल्दा श्रोता प्रभावित हुनुका साथै तिनले अभिव्यक्त गरिएको विचारलाई ग्रहण पनि गर्छन् ।
वाणीमा आकर्षण थप्नका लागि विम्ब र प्रतीकहरूको प्रयोग तथा दृष्टान्तसमेत दिनसक्दा श्रवणीय बन्न पुग्छ । मलाई कतिपयले वाक्पटुता भएको मानिस भन्छन्, मेरा अभिव्यक्ति मन पराइदिन्छन् । तर म आफूलाई भने त्यस्तो लाग्दैन । यति हुँदाहुँदै पनि म जहिल्यै सत्यतथ्यमा विश्वास गरेर बोल्छु ।

आफ्नो वाणीलाई प्रभावकारी बनाउन व्यापक अध्ययन आवश्यक पर्छ । बोल्ने कला, शैली, विम्ब–प्रतीक वा दृष्टान्त दिने काम आजको भोलि हुँदैन । कुनै पनि मानिसले बोल्नेबित्तिकै उसको ज्ञानको स्तर, सत्यप्रतिको निष्ठा थाहा पाइहालिन्छ । वाणी यस्तो चीज हो, मानिसले लुकाउन खोज्दा पनि लुकाउन सक्दैन । कसै गरी, कहीँ न कहीँ त्यो प्रकट भइहाल्छ । कुनै पनि कुराको द्रूत जवाफ वा प्रतिक्रिया दिँदा कतै न कतै कमजोर सुनिइहाल्छ, त्यो वाणी कमजोर प्रतीत भइहाल्छ । त्यसकारण बोलीलाई सर्वप्रथम सत्यतथ्यमा टेकेर कलात्मकता दिन सक्दा नै प्रभावकारी वा ग्रहणीय बन्न पुग्छ ।

म जहिल्यै आफ्ना वाणीमा सहमति–वृद्धिको उद्देश्य राख्छु । मलाई प्रकृतिले जन्मसँगै वाणी दिएको छ, प्राणीहरूमध्येको उत्कृष्ट मानव बनाएको छ र मस्तिष्क हालिदिएको छ । त्यही मस्तिष्कमा जम्मा भएका अनुभव–अनुभूति र थिग्र्याइएको ज्ञानलाई प्रकट गर्नका लागि नै वाणीको प्रयोग हुने हो । त्यो वाणी कस्तो हुनुपर्छ ? प्रभावकारी वाणीबाट निःसृत विचारका पछाडि लाखौंलाख मानिस लाग्छन् । खराब वाणीले मानिसलाई एक्लो बनाइदिन्छ । यस्तो शक्ति छ वाणीमा । त्यसकारण म आफ्ना वाणी सत्य र निष्ठामा आधारित हुनुपर्छ भन्नेमा दृढ छु । मलाई वाणी सर्वोत्तम, सर्वसुन्दर र सर्वजनहिताय हुनुपर्छ भन्ने लाग्छ ।

अहिले म जसरी बोलिरहेको छु, त्यो मेरो एक दिनको कमाइ होइन । मभित्र बोल्ने कला लामो सिलसिला पार गरेर विकसित भएको हो ।
लामो समयक्रमसँगै विकास हुने अभिव्यक्तिकलालाई मानिसले परिमार्जन गर्न वा अझै प्रभावकारी बनाउँदै लैजान सक्छ । बोल्दा तर्क गर्न सक्ने वा श्रोतालाई सम्मोहित गर्न सक्ने कुरामा सबैका सीमा हुन्छन्, मेरो पनि छ । मेरो अभिव्यक्तिको एउटै बलियो आधार भनेको सत्यलाई अघि सार्नु हो । अर्को कुरा, म देश, जनता र समग्र मानवजातिप्रतिको निष्ठामा आधारित रहेर बोल्छु । यी तीन पक्षमा निष्ठावान भइसकेपछि अन्य कुरा गौण बनिदिन्छन् । यिनै तीन कुरा स्मरणमा राखेर बोल्दा झुटो कसरी बोल्न सकिन्छ र !

आफूभित्र रहेको ज्ञान जति बाँड्यो उति बढ्छ । ज्ञान जति सञ्चित गरेर आफूभित्रै राख्यो, उति नोक्सान हुन्छ वा घट्छ । म किन बोल्छु ? यसकारण बोल्छु कि, आफूभित्र रहेको ज्ञान खिइँदै गएर, घट्दै गएर समाप्त भएको रुचाउन्नँ । आफूले अँगालेको निष्ठा र सत्यलाई पनि व्यापक रूपमा प्रसारण गर्न चाहन्छु । सर्वश्रेष्ठ प्राणी मानवजातिले पाएको वाणीलाई किन सर्वाेत्तम ढङ्गले सदुपयोग नगर्ने ? म यही कुरा सोच्छु र बोल्छु ।
मैले बोल्दा कतिपयलाई राम्रो लागिरहेको हुन्छ त कतिपयलाई विभिन्न कारणले नमीठो पनि लागिरहेको हुन सक्छ । तर म बोल्दा जोसँग संवाद वा कुराकानी (व्यक्तिगत–सामूहिक) गर्दैछु, उनीहरूसँग ‘आई कन्ट्याक्ट’ गरिरहेको हुन्छु । मैले एकतर्फी बोलिरहेको देखिन्छ, तर त्यहाँ श्रोता मसँगै सहभागी भइरहेका हुन्छन् । श्रोताले आफ्ना हाउभाउ वा अन्य गतिविधिमार्फत मलाई प्रतिक्रिया दिइरहेका हुन्छन् । आफ्ना अघिल्तिर मानिसहरू बसिरहेका हुन्छन् । तपाईं दायाँ–बायाँ, भुइँ–आकाशतिर मुन्टो फर्काएर बोल्नुहुन्छ भने कसैले पनि मन पराउँदैन । त्यस्तो वाणी प्रभावकारी हुन सक्दैन । म जहिल्यै जीवन्त, ताजा र स्वस्थ संवाद गर्न रुचाउँछु । बिरामी, घाइते वा बासी संवाद मेरो रोजाइमा पर्दैन ।
म इतिहासको कुरा गरिरहेको हुन्छु भने त्यहाँ भूगोल पनि जोड्छु । यसबाट मलाई सुन्न आएका मानिसहरूमा ज्ञानको दायरा त बढ्छ नै, साथमा रमाइलो पनि बन्न पुग्छ । दृष्टान्त, उदाहरण, उपमा–उपमेयको प्रयोगले मानिसहरूलाई सोच्न, अध्ययन गर्न र चिन्तनमनन गर्न उत्प्रेरित गर्छ । बोल्दा म के कुरा पनि विचार गर्छु भने, तुलनात्मक रूपमा मान्छे मात्र एउटा त्यस्तो प्राणी हो जो खुसी हुन, हाँस्न वा रमाउन जान्दछ, मान्छेलाई ज्ञान–बुद्धिसँगै हँसीमजाक पनि चाहिन्छ । तर म कुनै प्रहसनकारी होइन, भावुक बनाउने कुनै कलाकार पनि होइन । त्यो क्षमता मसँग छैन । म मानिसलाई किञ्चित् दुःखी बनाउन चाहन्नँ । मेरो सधैं प्रयास हुन्छ, मानिसहरू खुसी रहून् । मसँग भेट्दा जोसुकै प्रसन्नचित्त हुन सकोस् । त्यसकारण म मानिसलाई प्रसन्न पार्ने कुरा नै बोल्छु । प्रसन्न मानिसले नै कुनै पनि विषयलाई सकारात्मक रूपमा ग्रहण गर्न सक्छ ।
आफ्नो बोलीले सबैमा सकारात्मक प्रभाव पार्ने प्रयास गर्दागर्दै पनि त्यही नै भएको छ भनेर म यकिन गर्नचाहिँ सक्दिनँ । एउटा उदाहरण— जतिसुकै असल, अब्बल र सकारात्मक न्यायमूर्तिले पनि वादी–प्रतिवादी दुवैलाई खुसी पार्न सक्छ र ? न्याय पाउने त खुसी भएको होला तर अन्याय गर्ने पात्र अन्याय गर्न नपाएकामा दुःखी भइरहेको हुन्छ । कुनै एक छिमेकीले अर्काको सिमाना मिचिदियो, मुद्दा पर्यो, अदालतले फैसला गरिदियो । जसले जग्गा मिचेको हो, उसैलाई अदालतले दोषी ठहर गरिदियो  तर त्यहाँ जग्गा मिच्नेले चाहिँ आफूले मिचेर ठीकै गरेको ठानिरहेको हुन्छ र अदालतको फैसलाबाट दुःखी बनिरहेको हुन्छ । उसले ‘सक्नेले मिच्ने त हो’ भन्ने विचारले सिमाना अतिक्रमण गरेको हुन्छ । अदालतले त दुवै पक्षलाई खुसी पार्न सक्ने अवस्था नै हुँदैन । खेलमा हार्ने टोली अम्पायरसँग प्रायः खुसी हुँदैन तर जित्ने टोलीलाई खेलका क्रममा भएका सामान्य घटनाहरूबारे चासो नै हुँदैन जबकि हार्ने टोली झिनामसिना घटना सम्झेर दुःखी बनिरहेको हुन्छ । मेरो कुरा यहीँनिर जोडिन आउँछ— सत्यप्रतिको निष्ठा सबैले राखिदिए हुन्थ्यो । अब यहाँ अर्को व्यक्ति — जो सत्यको पक्षमा उभिएको छैन — लाई मेरो कुरा मन नपर्ने नै भयो । उसलाई मेरा कुरा ‘फाल्तु गफ’ लागिरहेको हुन्छ । सत्य छाडेर स्वार्थको मार्गमा चल्ने मानिसलाई मेरा कुरा मन नपर्ने भइहाल्यो । किनकि, सत्य र स्वार्थबीच मेल हुनै सक्दैन ।

मैले बोल्दा केही कुरा विचार गर्छु— असत्य, तथ्यहीन र गलत कुरा गर्नु हुँदैन । म त्यसमा अमल गरिरहेको मानिस हुँ । तर मैले त्यो मार्गमा हिँड्दा कहीँकतै कसैको स्वार्थमा धक्का लाग्न सक्छ । ग्रीसमा सुकरात नामका महापण्डित थिए, उनी सत्यलाई सदा अवलम्बन गर्थे । उनलाई एथेन्सका नागरिकले नै चिन्न र बुझ्न सकेनन् । सुकरातले सत्य बोलिरहे, एथेन्सवासीले उनलाई मृत्युदण्डको सजाय सुनाए ! उनले कसैको केही बिगारेका थिएनन् । उनले त सत्यको बाटो हिँड भनेर उपदेश दिइरहेका थिए, उनको अपराध त्यत्ति नै थियो । ती सत्यवादीलाई एथेन्सका जनताले हेमलक विष पिएर मृत्युवरण गर्नुपर्ने सजाय सुनाए ।

कहिलेकाहीँ समाज वा समुदायले सत्य बुझ्दैन, स्वीकार्दैन तर पछि पछुताउँछ । सुकरातले भनेका थिए– ‘एथेन्सवासीहरू तिमीहरूले दुइटा गल्ती गर्यौ । हेर, म त ८० वर्ष पुग्न लागेको बूढो, कुनै पनि समय पुक्लुक्क मर्न सकिहाल्थेँ । मर्न आँटेको मानिसलाई मारेर, हत्या गरेर तिमीहरूले अबगाल बेहोर्नुपर्ने काम गर्यौ । अर्काे गल्तीचाहिँ, सत्यको हत्या गरिदियौ । तिमीहरूलाई भविष्यमा पछुतो हुनेछ ।’ यसरी सुकरातको कथाबाट सत्यको अमल गर्ने मानिसहरूले सुखद परिणाम मात्रै प्राप्त गर्छन् भन्ने नभएको पुष्टि हुन्छ ।

म किशोरवयमा हुँदादेखि नै सत्यको बाटोमा हिँड्ने प्रयास गर्दै आएको विद्रोही स्वभावको मानिस । मेरा अभिभावकहरू त्यो बाटोलाई जोखिमयुक्त देख्थे । र, मैले त्यो बाटो नहिँडे हुन्थ्यो भन्ने उनीहरूलाई लाग्थ्यो । मेरा अभिभावकहरूमा सत्यको ज्ञान र त्यसमा अडिग रहने अवस्था थिएन । तर, मलाई त्यही बाटो प्रिय थियो । म अरूबाट चालित हुने होइन, स्वचालित ढङ्गले अघि बढ्न चाहन्थेँ । त्यही बखत नै म सत्यले आफूलाई चलाउने अभ्यासमा थिएँ ।

५३ वर्षअघि नेपालमा एउटा राजनीतिक अभियान सञ्चालन भयो । त्यति बेला पनि मलाई धेरैले ‘पहरामा कुइनो ठोक्काउन किन जान्छौ’ भनेका थिए । ‘बलियाबलिया कुइनो पनि पहराले भाँचिदिन्छ, तिम्रो कलिलो कुइनो त के छ र’ भन्थे उनीहरू । पछि हाम्रो आन्दोलनले धक्का खायो, कैयौं साथी मारिए, म जेल परेँ । तिनै मानिसहरूले ‘यो बाटामा नहिँड भनेर हामीले त भनेकै थियौँ’ भने । तर म त सत्यको बाटामा हिँडेको मानिस, मलाई दुःख र कठिनाइ झेल्नुपरेकामा कुनै पछुतो थिएन । अहिले पनि मलाई कहिलेकाहीँ कतिपय साथीले यस्तो कुरा नबोलिदिए हुन्थ्यो, यस्तो कदम नचालिदिए हुन्थ्यो भन्छन् । ती कतिपयले भनेका कुरा मैले मान्न सक्ने वा अवलम्बन गर्न सक्ने अवस्था नहुन सक्छ । त्यो बेला मलाई सुझाव दिनेहरूले ‘हामीले भनेको मानेन, जिद्दी गर्यो र यस्तो परिणाम भोग्नुपर्यो’ भन्न पनि सक्छन् । यो आम कुरा होइन, अपवादको कुरा हो । म राजनीतिमा छु, त्यसैले विवादमा पर्छु भन्ने कुरा मात्र पनि होइन । के धर्ममा विवाद छैन ? धर्म मान्दा पनि यो पन्थ र त्यो पन्थ भनेर विवाद त हुन्छ नै । शंकराचार्य र बुद्ध धर्मावलम्बीबीच मारामार भएको थिएन र ? पाठशाला खोल्दा पनि विवाद हुन्छ ? नालन्दा विश्वविद्यालयमा बखित्यार खिलजीले आगो लगाइदिएकै हुन् । त्यो ज्ञान उत्पादन गर्ने केन्द्र किन ध्वस्त पारियो त ? हामीले बुझ्नुपर्छ, विचार–प्रणाली वा शास्त्रहरूमा विवाद हुन्छ । वैज्ञानिक, दार्शनिक लगायतबीच पनि विवाद हुन्छ । कुनै सानातिना विषय वा घटनामा सर्वसम्मति होला, हुन सक्छ । त्यसमा संलग्न मानिसको हित एउटै होला र सहमति बन्ला ।

म कसैको चित्त दुखाउन, विरोधका लागि विरोध गर्न बोल्दिनँ । म राष्ट्र र जनताको हित, देशमा न्याय र राम्रो प्रणालीका निम्ति बोल्छु । सही वा गलत जे सल्लाह दिए पनि मैले मान्नुपर्छ र सोहीअनुरूप बोल्नुपर्छ भन्ने छैन । केही नजानेका, नबुझेका मानिस पनि त सल्लाह दिन आउँछन्, के तिनले भनेको पनि मान्नुपर्छ र ? नेपाल यस्तो देश हो, जहाँ सल्लाह दिनेको कमी छैन । टाउको दुख्यो भन्नु मात्र पर्छ, तोरीको तेल तताएर टाउकामा ठोक्नेदेखि पानी धेरै पिउनुपर्नेसम्मका सल्लाह ओइरिइहाल्छन् । आफ्नो सुझावले राम्रो गरोस् कि नराम्रो, त्यसमा वास्ता छैन, सुझावचाहिँ दिइहाल्ने आदत हामी नेपालीको छ । सुझाव दिनु नराम्रो होइन तर मैले दिएको सुझाव मानेन भनेर चित्त दुखाउनुचाहिँ खराब हो ।
निश्चय नै, मैले बोल्दा विवादहरू भएका छन् । तर बोलेर नै परिवर्तन आउने हो, क्रान्ति वा आन्दोलन हुने हो । जेम्स वाटले कित्लीमा उम्लिएको पानी देखेर नै वाष्प इन्जिन आविष्कार गरे र त्यही कुरा मानिसहरूमाझ बोले । सोही कारण औद्योगिक क्रान्तिमा मद्दत पुग्यो । विद्यार्थीहरूले बोलेकै कारण नेपालमा २०३६ सालको आन्दोलन भयो । जनताले बोलेरै तत्कालीन राजाले खोसेको आफ्नो अधिकार फिर्ता लिएका हुन्, २०६२–६३ मा ।

सत्यका पक्षमा बोल्दा खराब मानिसलाई असर पर्छ । सत्य बोल्दा कतिपयको अहङ्कार, इगो वा स्वार्थमा धक्का पर्न सक्छ । तिनले मैले बोलेको नराम्रो मान्छन् । मैले बोलेर आजका मितिसम्म कहीँ कसैको क्षति भएको छैन । हानिकारक (शरीरमा हार्मफुल ब्याक्टेरिया भनेजस्तै) मानिसको स्वार्थ पूरा नभएको हुन सक्छ । अचेल म ‘सोसल हार्मफुल ब्याक्टेरिया’ विरुद्ध बोलिरहेको छु । जनताविरुद्ध, जनसुख, जनराजविरुद्ध मैले बोलेको छैन, बोल्दिनँ । मैले बोल्ने अहिलेको मानवजातिका लागि हो ।

मलाई पवित्र मन भएका मानिससँग बोल्न मन लाग्छ । नयाँ पिँढी, बालबालिका र युवासँग कुरा गर्न मन लाग्छ, किनकि उनीहरूको मन पवित्र हुन्छ । मैले उनीहरूका मनमा आज चिन्तन र ज्ञानको सानो बिरुवा मात्रै लगाइदिन सकेँ भने भोलि गएर त्यो विचारको ठूलो रूख बन्न सक्छ । मलाई राम्रा कुराहरू जसरी बोल्न मन लाग्छ, उसैगरी सुन्न पनि मन लाग्छ ।  साभारः कान्तिपुर


Add Comment