वर्ग र वर्ग संघर्ष

कम्युनिष्ट घोषणा पत्रको ‘मानव समाजको आजसम्मको लिखित इतिहास वर्गसंघर्षको इतिहास हो’ भन्ने वाक्यांशले सामाजिक इतिहासको सार प्रस्तुत गरेको छ। तर, यस ‘वर्गसंघर्ष’ शब्दलाई बुझ्ने कसरी ? वर्गसंघर्षलाई सडकको भिडन्त वा आमनेसामनेको खुला भिडन्त वा छापामार युद्धको रूपमा मात्र बुझ्नु गलत हो। यी वर्गसंघर्षका केही दृश्य रूप मात्र हुन्। वर्गसंघर्ष दुई शत्रुतापूर्ण अन्तर्विरोधी वर्गहरूकाबीचको निरन्तर अन्तरसंघर्षको वस्तुगत अवस्था हो। यो समय र अवस्था सापेक्ष प्रत्यक्ष वा अप्रत्यक्ष कुनै पनि रूपमा, उपरि दृश्य रूपमा वा भित्र-भित्रैको द्वन्द्व, असहयोग आदि विविध रूपमा चलिरहेको नै हुन्छ। निर्वाचनको मैदानमा गरिने प्रतिस्पर्धादेखि धर्ना, विरोध, भोक हडताल, विद्रोह, सडक संघर्ष तथा उत्पादक वर्गमा देखा पर्ने कामप्रतिको विमोह आदि सम्पूर्ण विरोध वर्गसंघर्षका रूप हुन्।

वर्गसंघर्ष वर्ग विभाजित समाजमा उत्पादक शक्ति र उत्पादन सम्बन्धहरू बीचको अन्तर्द्वन्द्व र तिनका पारस्परिक निषेधात्मक चरित्रको बस्तुगत अपरिहार्य अवस्था हो। उत्पादक शक्तिहरू, विशेष रूपमा श्रमिक वर्ग, जसले सामाजिक उत्पादन गर्छन्, विभेदकारी उत्पादन सम्बन्धनको प्रतिपक्षमा रहन्छन्। तिनलाई परिवर्तन गर्न निरन्तर संघर्ष गर्छ। कहिले सामान्य मागको रूपमा, कहिले असन्तोष त कहिले प्रत्यक्ष-अप्रत्यक्ष सानातिना विद्रोह, हडताल र कहिले खुला विद्रोहको रूपमा। तर, सत्ताधारी वर्ग, जसको खटनपटनमा राज्यसत्ता चल्छ। सधैं आधारभूत उत्पादनका साधन स्रोतहरूमाथि आफ्नो निर्विघ्न स्वामित्व कायम राख्न नियम, कानून, विधि विधान, न्यायिक संरचना, धार्मिक र वैचारिक हतियारसहित यसको प्रतिरोधमा उभिन्छ। यसै विन्दुबाट खुला वर्गसंघर्षले जन्म लिन्छ। श्रमिक वर्ग र शासक वर्ग परस्पर दुईटा शत्रुतापूर्ण विरोधी खेमामा उभिन्छ। यो वर्गसंघर्ष कहिले तुमुल विद्रोह त कहिले वर्गसंघर्षका अन्य विविध रूपमा चलिरहन्छ। मानव इतिहासले यस्तो वर्गसंघर्षका अनेकौं रूप देखेको छ। दास युगीन कालखण्डमा, ती देशहरूमा जहाँ दास व्यवस्था चरम अमानवीय रूपमा थियो र दासहरूलाई ‘बोल्ने जनावर’को रूपमा हेरिन्थ्यो। त्यहाँ वर्गसंघर्ष हजारौं हजार दासहरूको खुला विद्रोहको रूपमा अगाडि आयो भने सामन्ती युगमा सामन्ती शोषणविरुद्ध किसानहरूका सघन युद्धहरूको रूपमा।

दास विद्रोहको चरम रूप भूमध्य सागर तटीय देशहरू, जहाँको शासन व्यवस्थालाई दास व्यवस्थाको मौलिक रूप मानिन्छ। यी देशहरूमा दास व्यवस्थाको दौरान भएको भौतिक संरचनाहरूको तीव्र विकास, प्राचीन समृद्धि र सभ्यताको निर्माण, कृषि तथा खानीहरूको विकास र वैभवको निर्माणका मुख्य उत्पादक शक्ति दासहरू नै थिए। जसलाई आफ्नो शरीरमा समेत अधिकार थिएन। सामाजिक उत्पादनमा अंशको त कुरै भएन। दासहरूले त्यस दासत्वविरुद्ध पटक-पटकका विद्रोह, र तुमुल युद्धहरू गरे। सिसली, मिश्र आदि जस्ता विमित्र देशहरूमा दास व्यवस्था पल्टाएर सत्ता कब्जा गरेका ऐतिहासिक घटनाहरू छन्। तर, ती सब प्रतिक्रियावादी शोषक वर्गको संयुक्त शक्तिबाट निर्ममता पूर्वक दबाइए र दासहरू आम नरसंहारमा परे। दासहरूको तुमुल वर्गसंघर्षले सबै ठाउँमा राज्यसत्ता प्राप्त गर्न वा प्राप्त सत्तालाई जोगाउन नसके पनि समाजबाट दास व्यवस्था समाप्त गरी आम जनताले आफ्नो शरीरमाथि आफ्नो स्वामित्व रहने र पारिवारिक जीवन बाच्न पाउने अधिकार सहितको नयाँ सामन्ती सामाजिक-आर्थिक संरचना र उत्पादन प्रणाली स्थापित गर्न सफलता प्राप्त गर्‍यो। त्यसपछिका कृषक विद्रोहहरूले पनि कम वेश यही अवस्था भोग्नु पर्‍यो।

दास व्यवस्थामा वर्गसंघर्षको मुख्य चरित्र दासताबाट मुक्तिका लागि दास तथा दासमालिकबीच सीधा टक्करको अवस्था थियो। सामन्ती युगमा वर्गसंघर्षको रूप फेरियो र यो बहुपक्षीय र बहुआयामिक हुन पुग्यो। एकतर्फ उत्पादनका प्रमुख साधन, विशेष गरेर जल, जमिन, जंगल र खानिहरूमाथि सामन्ती अभिजात वर्ग तथा भूमि पतिहरूको स्वामित्वको समाप्ति र सामान्य राजनैतिक तथा सामाजिक अधिकारका लागि निरंकुश सामन्ती सत्ताविरुद्ध राजनैतिक संघर्ष यसको मुख्य चरित्र थियो भने अर्कोतर्फ सामाजिक उत्पादन प्रणालीमा गरिएको क्रमिक परिवर्तनले उत्पादनको विकास भएपछि अतिरिक्त उत्पादनको संग्रह तथा विनिमय प्रणालीको विस्तार, बजारको विस्तार, ज्यालादारी श्रमका परिपाटीको विकास तथा विस्तार, साना तथा घरेलु उद्योगहरूको विकास र स्वतन्त्र कृषक वर्गको उदय, आदिले जन्माएको बहुआयामिक वर्गीय अवस्थामा सामन्ती उत्पादन प्रणालीसँग यी नवोदित सामाजिक वर्ग र तप्काहरूको बहुध्रुवीय वर्गसंघर्षको अवस्था थियो। यस अवस्थामा पूँजीवादको निर्वाध विकासका लागि स्वतन्त्र ज्यालादारी श्रमको बढ्दो आवश्यकताको परिपूर्तिका लागि उदीयमान पूँजीपति वर्गको सामन्ती उत्पादन प्रणालीविरुद्ध वर्गसंघर्ष अर्को पक्ष थियो। यस अवस्थामा गरिब शोषित पीडित किसान नवोदित पूँजीपति वर्ग आ-आफ्नो लक्ष प्राप्तिका लागि वर्गसंघर्षको एउटै मोर्चामा उभिन पुगे। पूँजीवादी क्रान्ति सम्पन्न गरी पूँजीवादी विकासको बाटो निर्माण गर्‍यो। जसले वर्गसंघर्षको नयाँ रूप र चरित्र प्रस्तुत गर्‍यो। यस संघर्षमा किसान आफूलाई सामन्ती शोषकबाट मुक्त गरी स्वतन्त्र हुन चाहन्थ्यो भने पूँजीपति वर्ग किसानलाई मुक्त गरी आफ्नो औद्योगिक विकासका लागि उसलाई श्रम बजारमा ल्याउन चाहन्थ्यो। यस वर्गसंघर्षमा एउटै मोर्चामा दुई परस्पर विरोधी वर्ग स्वार्थ एकत्वको अवस्थामा थिए। वर्गसंघर्षको इतिहासमा किसान वर्गले सामन्ती भूस्वामित्व, भूदासत्व, बँधुवा श्रम, बेठबेगर आदिविरुद्ध गरेका अनेकौं इतिहास प्रसिद्ध कृषक युद्ध, विद्रोह, असहयोग आन्दोलन आदि वर्गसंघर्षका विविध रूप इतिहासमा अंकित छन्।

सामन्ती उत्पादन प्रणालीमा बहुपक्षीय र बहुआयामिक वर्गसंघर्षको अवस्था थियो भने पूँजीवादी उत्पादन प्रणालीले समाजको वर्गीय विभाजन र वर्गसंघर्षलाई बढी सरलीकृत गरेको छ। सामन्ती उत्पादन प्रणालीका विभिन्न चरणहरूमा एकसाथ अस्तित्वमा रहने स्वतन्त्र कृषक, भूदास, कास्तकार, लघु तथा घरेलु उत्पादक, स्वतन्त्र बणिक, सामन्त, सामन्ती अभिजात वर्ग, उदीयमान पूँजीपति वर्ग आदिका बीचमा बहुआयामिक अन्तर्द्वन्द्वको अवस्था थियो भने पूँजीवादले समाजलाई प्रमुख दुई वर्ग- सर्वहारा र पूँजीपति वर्गमा विभाजित गरेको छ। जहाँ प्रमुख अन्तर विरोध पूँजी र ज्यालादारी श्रमबीच छ। अतः प्रमुख र निर्णायक वर्गसंघर्ष यिनै दुई वर्गबीच छ। यसको अर्थ आजको पूँजीवादी संरचनामा यी दुई प्रमुख वर्ग बाहेक अन्य वर्गीय तपका वा उपवर्ग वा आजको यान्त्रिक र वैज्ञानिक तथा सूचना प्रविधिको विकासले जन्माएका नयाँ उपवर्ग अथवा सामन्ती व्यवस्थाको अवशेषका रूपमा रहेका पुराना वर्गहरू विद्यमान छैनन् र तिनीहरू बीच अन्तर्द्वन्द्व छैन भन्ने कदापि होइन। ती छन् र त्यहाँ अन्तर्द्वन्द्व पनि छ। तर, त्यी अन्तर्द्वन्द्व वर्गसंघर्षको दिशा निर्धारण गर्ने मूल चरित्र होइनन्। जसरी विभेदपूर्ण उत्पादन सम्बन्धहरूले शोषणका विविध रूपहरू जन्माउँछ। त्यसैगरि विभिन्न आर्थिक वर्ग, तपका र उपवर्गहरूलाई पनि जन्माउँछ। तर, ती वर्ग र तप्काहरू तात्कालिक वर्गसंघर्षका निर्णायक शक्ति वा दिशा निर्धारक शक्तिको रूपमा नभई यता विगतका वर्गहरूको अवशेषहरू विरुद्ध संघर्षको रूपमा रहन्छन् या उत्पादन प्रणालीका विकासको नयाँ चरणले जन्माएका नयाँ तप्काहरूको संघर्षका रूपमा रहन्छन्।

वर्गसंघर्षका ऐतिहासिक विकासको द्वन्द्वात्मक प्रवृत्ति हेर्ने हो भने यसका ऐतिहासिक रूप फेरिका छन्। यसका साथै शोषित श्रमजीवी वर्गको अवस्थामा पनि क्रमिक परिवर्तन हुँदै आएको छ। आज यो वर्ग विगतमा भन्दा राजनैतिक रूपले बढी वर्गसचेत, वैचारिक रूपले बढी परिपक्व, बढी संगठित र संघर्षबाट खारिएको अवस्थामा छ। संगठनात्मक परिपक्वतामा वृद्धि भएको छ र पूँजीवादविरुद्ध सम्झौता विहीन संघर्षरत अगुवा वर्गको रूपमा स्थापित छ। वैचारिक रूपले परिपक्व र समाजवादी ध्येयप्रति समर्पित वर्तमान श्रमजीवी वर्गको पूँजीवाद विरोधी वर्गसंघर्ष विगतमा जस्तो एउटा शोषक वर्गको हातबाट सत्ता अर्को शोषक वर्गको हातमा सुम्पिनु नभई पूँजीपति वर्गलाई विस्थापित गरी समाजबाट वर्गीय विभाजन र वर्गीय शोषणको आधार र अवस्थालाई नै सधैंका लागि समाप्त गरेर मानवद्वारा मानवको शोषण गरिने आधारलाई नै समाप्त गर्नु हो। श्रमिक वर्गले यो संघर्ष कम्युनिष्ट पार्टीहरूको नेतृत्वमा लड्ने भएकोले ती पार्टीहरूले यस संघर्षको नेतृत्व गर्न सर्वपक्षीय क्षमताको विकास तथा त्यो लक्ष्य प्राप्त गर्न वस्तुगत रणनीतिको तर्जुमा गर्नु आवश्यक हुन्छ। यसमा कम्युनिष्टहरूले सधैं याद राख्नुपर्ने कुरा के हो भने उनको लक्ष्य श्रमजीवी वर्गको सत्ता स्थापना गर्न श्रमिक आन्दोलनको नेतृत्व गर्नु हो, पार्टीलाई शासक बनाउन होइन। सत्ता कम्युनिष्ट पार्टीको नीति निर्देशन र नेतृत्वमा श्रमजीवी वर्गको नै हुनु पर्दछ।

वर्गसंघर्षका लक्ष्यको इतिहास हेर्ने हो भने विगतदेखि आजसम्म यस संघर्षको लक्ष्य शोषित दमित वर्गलाई वर्गीय शोषणबाट मुक्त गर्नु नै रहेको छ। यो संघर्ष एकपछि अर्को गर्दै बढी विकसित, संगठित र वैचारिक रूपमा परिपक्व हुँदै आएको छ। दास व्यवस्थामा यो संघर्ष संख्यात्म, संगठनात्मक, राजनैतिक र वैचारिक रूपमा आफ्नो शैशवकालमा थियो। तर, त्यस अवस्थामा पनि संघर्षको लक्ष्य शोषणबाट दासहरूको मुक्ति नै थियो। सामन्ती व्यवस्थामा यसको लक्ष्य शोषित पीडित किसानलाई सामन्ती शोषणबाट मुक्त गर्नु थियो। र, आज मजदुर वर्गको नेतृत्वमा चलिरहेको यो वर्गसंघर्ष पूँजीवादी आर्थिक दासताबाट श्रमिक वर्गको मात्र नभएर सम्पूर्ण शोषित, पीडित, सीमान्तकृत तथा सामाजिक बहिष्करणमा रहेका सम्पूर्ण जनतालाई वर्गीय शोषण, सामाजिक थिचोमिचो, जातिभेद, रंगभेद आदिबाट मुक्त गर्न र साम्राज्यवादी कालो छायाबाट मानव जातिको भविष्य सुरक्षित गर्ने व्यापक लक्ष्य लिएर अगाडि बढ्दै छ। विगतमा यस संघर्षका विविध रूप अगाडि आएका छन्। जय-पराजय बेहोरेको छ। पूँजीपति वर्गको चरम दमन र नरसंहार बेहोरेको छ। विगतमा भोगेका यी सब जय-पराजयका साथै ‘समाज परिवर्तन’का लागि विगतमा समाजवादी सत्ता सञ्चालनको दौरान भए गरेका कमी कमजोरी र प्राप्त सफलता असफलताका अनुभवसहित यो आन्दोलन अगाडि बढ्दै छ। र यो लक्ष्य प्राप्त गर्नु सम्भव छ भन्ने कुरा पेरिस कम्यूनदेखि अक्टोबर क्रान्तिसम्म र चीनको क्रान्तिदेखि त्यसपछिका घटनाक्रम र सर्वहारा वर्गीय राज्य स्थापनाहरूले नै पुष्टि गरिसकेको छ। यद्यपि यसमा सफलता, असफलता, विकृति, व्यक्तिवाद आदि गैर कम्युनिष्ट प्रवृत्ति, व्यवहार र गैर मार्क्सवादी-लेनिनवादी चिन्तन तथा गलत प्रवृत्ति पनि देखिएका छन्। तर, भावी संघर्षको सही दिशा निर्धारण गर्न तथा समाजवादी व्यवस्था निर्माणका लागि यी अमूल्य अनुभव हुन् र यसले नै अगाडिको बाटो निर्देशित गर्ने छ।

वर्गीय समाजमा वर्गसंघर्ष वस्तुगत यथार्थ हो। कसैले नकार गर्दैमा यसको नकार हुँदैन। वर्गसंघर्षको त्यो अवस्था, जहाँ दुईटा परस्पर विरोधी वर्ग सँगसँगै बस्न सक्ने अवस्था रहँदैन र एकले अर्कालाई समाप्त गर्न उद्यत हुन्छन्। त्यो वर्गसंघर्षको उच्चतम शत्रुतापूर्ण वर्गसंघर्षको चरण हो। यस चरणमा पुगेपछि सामाजिक उत्पादन त्यही रूपमा अगाडि बढ्न सक्दैन र उत्पादन प्रणाली त्यही रूपमा चल्न सक्दैन। त्यसमा परिवर्तन अपरिहार्य भएर जान्छ। यो परिवर्तन नै त्यस चरणका वर्गसंघर्षको अन्तिम चरण, अर्थात् सामाजिक क्रान्तिको चरण हो, जसले समाजलाई नयाँ उचाइ दिन्छ। सर्वहारा वर्गका वर्गसंघर्षको विजयसँगै सर्वहारा वर्गसहित संघर्षरत आम शोषित पीडित वर्ग तथा तप्काहरूको सत्ता कायम हुन्छ। यो मार्क्सवादी क्रान्ति विज्ञानको तार्किक निचोड हो। तर, शोषित पीडित श्रमजीवी वर्गको संघर्ष अन्ततः विजयमा नै टुंगिने भए पनि यस मार्गमा यसले अनेकौं उतार चढाव, दमन आदि अवस्था झेल्नु पर्ने अवस्था रहन्छन् वा प्राप्त गरिएको सत्ता टिकाउन नसकिने अवस्था पनि आउन सक्छन्। विगतका दाश विद्रोह, किसान युद्ध तथा मजदुर आन्दोलनले यस्तो अवस्था झेलेका छन् र भविष्यमा पनि दोहोरिने छन्। यसै सम्भावनालाई मध्यनजर राखी लेनिनले क्रान्तिको सम्पन्नता र सफलताका लागि वस्तुगत र मनोगत अवस्था परिपक्व भएको र तिनका बीच सही तालमेल र क्रान्तिकारी शक्तिहरूबिच समन्वय हुन पर्छ भनी जोर दिएका हुन्।

वर्गीय सामाजिक उत्पादन प्रणालीमा समाजको प्रमुख अन्तर्विरोध त्यस प्रणालीका प्रमुख वर्ग र तिनका बीचको संघर्षबाट अभिव्यक्त हुन्छन्। तर, वर्गीय समाजमा आधारभूत वर्ग र तिनका अन्तर्विरोधका साथसाथै गौण अथवा संक्रमणकालीन वर्गहरू र अन्तर्विरोध पनि हुन्छन् र कहिलेकाहीँ अवस्था विशेषमा, विशेष गरेर क्रान्तिको चरणमा शक्ति समायोजनको दौरान, यी अन्तर विरोध निर्णायक महत्त्वका पनि हुन सक्छन्। उदाहरणका लागि सामन्ती संरचनामा शहरहरूको विकाससँगै शहरिया वणिकहरू, कास्तकारहरूका गुठी, व्यापारी, मध्यम वर्गीय बुद्धिजीवी आदि तप्काहरू विद्यमान थिए र सामन्तवाद विरोधी आन्दोलनमा यिनको महत्त्वपूर्ण भूमिका रहेको हो। पछि यिनै नवोदित तप्काहरू मध्ये केही कृषि फर्महरूका मालिक, केही औद्योगिक पूँजीपति, केही वणिक पूँजीपति आदिमा परिणत भए भने तिनका कामदार तथा पूँजीवादको विकाससँगै हिँड्न नसकेकाहरू सर्वहारामा परिणीत हुन पुगे। अथवा कोही शहरिया मध्यम वर्गमा त केही स्वतन्त्र किसान वर्गमा परिणीत हुन पुगे। आज पूँजीवादको अन्तर्राष्ट्रिय एकाधिकार पूँजीवादी चरणमा पनि यस संरचना भित्र प्रमुख वर्ग पूँजीपति तथा सर्वहारासँगै मध्यम वर्गीय पूँजीपति, किसान, मध्यम, वर्ग निम्न मध्यम वर्ग, साना व्यापारी आदि अनेकौं तप्का र उपवर्गहरू विद्यमान छन् र यिनले जनसंख्याको ठूलो हिस्सा ओगटेका छन्।

यी तप्का आर्थिक रूपमा पूँजीपति तथा मजदुर वर्गका बीचको वर्गका रूपमा रहे पनि कुनै पनि देशको राजनीतिमा यिनले अहम् भूमिका निर्वाह गर्छन्। वर्गसंघर्षको पक्षबाट हेर्ने हो भने सामान्य रूपमा दुई प्रमुख वर्गहरूबीचका यी तप्का निजी सम्पत्तिधारी समूह भएकोले राजनैतिक रूपमा यी पूँजीपति वर्ग निकट रहन्छ। तर यसको सम्पत्ति शोषणबाट भन्दा स्वआर्जन र आफ्नै श्रमको परिणाम भएको र आफै पनि श्रमजीवी भएको र संघै पूँजीवादी आर्थिक सम्बन्धको मारमा रहने हुँदा केही सीमासम्म पूँजीवाद विरुद्धको संघर्षमा श्रमिक वर्गको साथ दिन्छ। तर एउटा सीमासम्म मात्र। यसका साथै नवोदित बौद्धिक श्रमजीवी तपका कामको अवस्था र वातावरणमा भिन्नता भए पनि पूँजीद्वारा श्रमको शोषणबाट यो तपका पनि मुक्त नभएकोले पूँजीसँग यसको पनि वर्गसंघर्ष छ। व्यापक अर्थमा यो पनि श्रमिक वर्गकै अंग हो र पूँजीवादी श्रम शोषणबाट मुक्ति यसको पनि साझा मुद्दा हो। क्रान्तिको संवाहक शक्ति संगठित गर्दा यस पक्षमा ध्यान दिनु आवश्यक हुन्छ।

समष्टिमा हेर्दा प्रत्येक सामाजिक-आर्थिक संरचनामा समाजको वर्गीय बनौट र त्यसै अनुसार वर्गसंघर्ष पनि बहुआयामिक र जटिल प्रकृतिको हुन्छ। त्यसमा प्रमुख वर्गहरूसँगै समष्टिगत रूपमा वा एउटै वर्गभित्र पनि विभिन्न तप्का, उपवर्ग, समूह आदि अस्तित्वमा रहन्छन्। वर्गीय आधारमा तिनलाई एउटै विशाल परिवार भित्र मानिए पनि तिनको सामाजिक आर्थिक अवस्था र स्थान, स्वामित्व र सम्पत्तिको अवस्था तथा पेशा आदिको कारण यी वर्गहरूबीच पनि अन्तर्द्वन्द्व र अन्तर संघर्ष रहन्छ। क्रान्तिकारी शक्ति सञ्चयको दौरान यस पक्षलाई नजरअन्दाज गर्नु हुँदैन। तर, कुनै पनि सामाजिक-आर्थिक संरचनाको चारित्रिक विशेषता र वर्गसंघर्षका अवस्थाको अध्ययन गर्दा प्रमुख वर्गहरूको अवस्थालाई नै प्रमुख आधारको रूपमा लिइन्छ। त्यसलाई नै समाज परिवर्तनको संवाहक शक्ति र त्यस संरचनाको प्रमुख वर्गसंघर्षको रूपमा लिइन्छ। अन्य उपवर्ग, तप्का, समूह सहायक शक्ति हुन्। तर, बहुदलीय प्रतिस्पर्धात्मक निर्वाचन प्रणाली, संसदीय परिपाटी आदिमा यिनको अहम् भूमिका रहन्छ। यस कुरालाई बिर्सिनु हुँदैन।

वर्गसंघर्षले समाजको उत्पादन प्रणालीमा गुणात्मक परिवर्तन ल्याउने क्रान्ति सम्पन्न गर्ने काम एक दिनमा पुरा हुने कुरा होइन। सामान्य रूपमा यो परिवर्तन परिमाणात्मक परिवर्तनको लामो श्रृंखलापछि सम्पन्न हुने परिघटना हो। दास व्यवस्थाको अन्तिम चरणमा भ्रूण रूपमा देखा परेको श्रम र ज्यालाका उत्पादन सम्बन्ध त्यस भ्रूण अवस्थाबाट आजको पूँजीवादी अवस्थामा पुग्न सिंगो सामन्ती युगको चरण पार गर्दै सदियौं लामो यात्रा पार गर्नु परेको ऐतिहासिक तथ्य हो। यसै गरी पूँजीवादी समाज वैज्ञानिक समाजवादी चरणमा प्रवेश गर्नु ऐतिहासिक वस्तुगत आवश्यकता हो। तर, यस संक्रमणकालको अवधि कति होला त्यो समय र अवस्थामा निर्भर हुने कुरा हो। अवस्था विशेषमा यस्तो क्रान्तिकारी परिवर्तन सापेक्षिक रूपले अल्पकालमा नै पनि हुन सक्छ। वर्ग र वर्गसंघर्षको दृष्टिकोणबाट हेर्ने हो भने वर्तमान पूँजीवादी युगको एउटा विशेषता के हो भने यसले सिंगो समाजलाई स्पष्ट रूपमा दुईटा ठूला परस्पर विरोधी वर्ग- पूँजीजीवी र श्रमजीवी वर्गमा विभाजित गरेको छ। यसले वर्गसंघर्षलाई बढी स्पष्ट र आमने सामनेका संघर्षको रूप दिएको छ। अन्य मध्यवर्ती वर्ग र तपका या त पूँजीजीवी वर्गको वरिपरि या श्रमजीवी वर्गको वरिपरि स्थित छन्। त्यस कारण पूँजीवाद विरोधी संघर्षमा भोलि कुन वर्ग वा तप्का कुन ठाउँमा के रूपमा उभिएला अनुमान गर्न सकिन्छ किटानी गर्न सकिँदैन।


Read Previous

«

Read Next