युग बदल्ने चिनियाँ जनवादी क्रान्ति

चीनको जनवादी क्रान्ति समाजवादी क्रान्तिहरूको श्रृंखलामा अक्टोबर क्रान्तिपछिको अर्को महान क्रान्ति हो। जसले देशलाई नवनिर्माणको बाटोमा अगाडि बढाइ रहेको छ। चीनलाई विश्व शक्तिको रूपमा स्थापित गरेको छ। पेरिस कम्युन र अक्टोबर क्रान्तिको पृष्ठभूमिबाट हेर्ने हो भने यो क्रान्ति देशको सामाजिक आर्थिक विकासको अवस्था, सामाजिक संस्कार र संस्कृति, क्रान्तिका विकासको अवस्था र प्रक्रिया आदि दृष्टिकोणबाट एकदम भिन्न परिस्थितिमा सम्पन्न भएको क्रान्ति हो। मार्क्सवाद-लेनिनवादको सैद्धान्तिक आधार, कम्युनिष्ट पार्टीको नेतृत्व, समाजवादको लक्ष्य, चीनको विशिष्ट अवस्थामा क्रान्तिकारी किसान, मजदुर, साम्राज्यवाद विरोधी राष्ट्रिय पूँजीपति, बुद्धिजीवी, मध्यम वर्गलाई संगठित गरेर सामन्तवाद र साम्राज्यवाद विरुद्ध एकैसाथ दोहोरो युद्धमा विजय प्राप्त गर्नु यसको विशेषता हो। विषय बस्तुमा प्रवेशभन्दा पहिले चीनको केही पृष्ठभूमि दिन सान्दर्भिक हुने छ :-

चीन अत्यन्त प्राचीन संस्कृति र सभ्यता भएको देश हो। यहाँ झण्डै दुई हजार वर्षसम्म शाङ, हान, क्वीङ्ग जस्ता विभिन्न वंशाणुगत राजतन्त्रहरूले एकतन्त्रीय सामन्ती साम्राज्य चलाए। यस शृंखलाको अन्ति डाइनाष्टी मञ्चू डाइनाष्टि थियो, जसलाई १९११-१२ को जनक्रान्तिले त्यस २०० वर्ष लामो सामन्ती साम्राज्यको अन्त गरी चीनमा गणतन्त्रको स्थापन गर्‍यो। उन्नाइसौं शताब्दीमा (सन् १८४०-४२ र सन् १८५६-६०)मा ब्रिटिस तथा फ्रान्सविरुद्धको अफिम युद्धहरूमा पराजयपछि यस सामन्ती साम्राज्यका कुदिन सुरु भएका थिए। नानजिन सम्झौतामा यसले हंगकङ गुमाएपछि एकपछि अर्को भूभाग गुमाउँदै अर्धउपनिवेशको रूपमा परिणीत हुन पुगेको थियो।

सामन्ती साम्राज्यको समाप्तिपछि, १९४९मा कम्युनिष्ट पार्टीले सत्ता नलिएसम्म, यहाँ बेलाबेलामा केन्द्रीय र प्रान्त स्तरका अनेकौं अधिनायकवाद र गणतन्त्रात्मक सत्ता कायम गरिए र फालिए। क्वीङ्ग साम्राज्यको अन्त तथा कम्युनिष्ट पार्टीको नेतृत्वमा नयाँ जनवादी क्रान्तिको विजयका बीचको कालखण्ड कम्युनिष्ट पार्टी तथा कोमेङ्ताङ्गबीचको गृहयुद्ध, सैनिक तथा किसान विद्रोह, विद्रोही सैन्य दस्ता तथा क्वीङ्ग साम्राज्य विरोधी क्रान्तिकारीहरूको एकता, दलबल र पक्ष परिवर्तनका अनगिन्ती घटना र सैन्य विद्रोह आदि घटनहरूले भरिएको छ। यहाँ त्यसको समष्टिगत उल्लेख न सम्भव छ, न त्यो विवरण प्रस्तुत गर्न यस लेखको उद्देश्य नै हो। यस लेखको उद्देश्य चीनको महान नयाँ जनवादी क्रान्ति र त्यसको विकासक्रम र क्रान्तिको सार तथा त्यसका सकारात्मक नकारात्मक पक्षबारे सामान्य दृष्टिपात गर्नु हो। त्यसका लागि त्यस क्रान्तिपूर्वका क्रान्तिकारी परिघटना र पृष्ठभूमिको जानकारीका लागि केही प्रमुख घटनाहरूको शृंखला छोटकरीमा जोड्न खोजिएको मात्र हो।

सन् १८५६-६०को दोस्रो अफिम युद्धमा पराजय र ब्रिटिस तथा फ्रान्सको सहयोगमा ताइपिङ विद्रोहको दमनपछि क्वीङ्ग दरबारले पटक-पटकका किसान विद्रोह दबाउन साम्राज्यवादीहरूबाट हतियार र युद्धकौशल प्राप्त गरी ‘आफूलाई बलियो बनाउने’ नियतले साम्राज्यवादी शक्तिहरूसँग सन् १८६०मा बेजिङ सम्झौता गर्‍यो। जस अन्तरगत ती साम्राज्यवादी शक्तिहरूका लागि चीनलाई खुला गरियो। साम्राज्यवादी शक्तिहरूसँगको यो सन्धि नै चीनमाथि पश्चिमा साम्राज्यवादीहरूको पकड, प्रभाव र आधिपत्य कायम गर्ने बलियो माध्यम बन्यो। चीनले हङकङ गुमाउनका साथै युद्धमा पराजयपछि तिर्नुपर्ने जरिवाना, हात हतियारको आपूर्ति आदिका लागि साम्राज्यवादीहरूका विभिन्न सर्तहरू पूरा गर्दै जाँदा चीन एकपछि अर्को गरी रुस लगायत ६ वटा पश्चिमा देशहरूको फन्दामा पर्न गयो। भियतनाम चीनको करद राष्ट्र थियो। फ्रान्सले यसमा अधिकार कायम गर्न खोज्दा सन् १८८४-८५मा फ्रान्स र चीनबीच भएको युद्धमा चीनले भियतनाम त गुमायो नै थुप्रै अन्य छूट पनि दिन पर्‍यो। चीनको यस पराजयपछि सनयात सेनले भने ‘अब मेरो काम क्वीङ् साम्राज्य ध्वस्त गर्नु र यसका अवशेषबाट गणतन्त्र चीनको स्थापना गर्नु हो।’ (सुनयात सेन- छानिएका रचना भाग १ बेजिङ)। यो नै क्वीङ् साम्राज्यवाद विरोधी गणतन्त्रात्मक आन्दोलनको पहिलो उद्घोष थियो। कोरियाको आधिपत्यका लागि सन् १८९४-९५ मा जापान र चीन बीच भएको युद्धमा चीनको पराजय मात्र भएन अप्रिल सन् १८९५ को सन्धि अनुसार चीनले कोरिया, ताइवान लगायतका भूभाग, सैनिक किल्ला, बन्दरगाह र ठूलो धनराशि जापानलाई दिनु पर्‍यो। यो क्वीङ्गदर्वारको ‘आफूलाई बलियो बनाउने’ गलत नीतिको परिणाम थियो।

सारांशमा भन्नुपर्दा क्यीङ्ग दरबारको ‘आफूलाई बलियो बनाउने’ नीतिको परिणाम स्वरूप चीन क्रमिक रूपले पश्चिमा साम्राज्यवादी शक्तिहरूको नियन्त्रणमा पर्दै गयो र सन् १९०१ मा भएको सम्झौताबाट चीनलाई विधिवत् रूपमा अर्धऔपनिवेशिक देशमा परिणीत गरियो। साम्राज्यवादी शक्तिहरूबीचका अन्तर्विरोध कारण क्वीङ्ग राजतन्त्रलाई त हटाइएन तर, विदेशी शक्तिहरूलाई बेजिङमा किल्लाबन्द ‘लिगेशन क्वार्ट’ खोल्ने र त्यसको चाहना अनुसार सरकारले काम गर्नु पर्ने तथा साम्राज्यवादी शक्तिहरूले बन्दरगाह, रेल, कलकारखाना, खानी आदि आफ्नो मातहत चलाउन पाउने अधिकार सुनिश्चित गरिए। अर्थात् कागजी रूपमा केन्द्रमा क्वीङ्ग वंशको अधिकार विहीन सरकार रहे पनि अरू कुरा साम्राज्यवादीहरूको खटनपटनमा चल्नुपर्ने अवस्था सृजना गरियो। यो नै चीनको अर्धऔपनिवेशिक अवस्था थियो।

चीनमा पूँजीपति एउटा वर्गको रूपमा अगाडि आइसकेको अवस्था थिएन। केही ठूला कलकारखाना, खानी आदी भए पनि ती भूमिपति तथा सामन्ती कुलीनहरूको हातमा थिए र सामन्त वर्गसँगै जोडिएका थिए। साना तथा घरेलु उद्योग विदेशी पूँजी तथा सामन्ती शोषणको मारमा थिए। त्यस अवस्थामा आम जनअसन्तोष झन् चुलिँदै गयो। यसै अवस्थामा ‘बौक्सर विद्रोह’का नामबाट प्रख्यात विद्रोह सुरु भयो। जसलाई चीनमा पहिलो सशस्त्र जन विद्रोह मानिन्छ। सुरुमा बौक्सर विद्रोह एउटा राष्ट्रवादी, क्रिचियन विरोधी, साम्राज्यवाद विरोधी सशस्त्र आन्दोलन थियो र विद्रोह ‘राजतन्त्रको रक्षा र विदेशीहरूलाई मृत्यु’को नारा सहित अगाडि आएको थियो। तर यसले व्यापकता पाएपछि दरबारले यसबाट आफूमाथि नै खतरा देख्यो र साम्राज्यवादी शक्तिहरूसँग मिलेर यसको दमन गर्‍यो। तत्काललाई बौक्सर आन्दोलन दबाइए पनि यो समाप्त भएन। त्यसपछि एकतर्फ यो विद्रोह विभिन्न प्रान्तहरूमा सक्रिय रह्यो भने अर्कोतर्फ यसले आफ्नो नारा परिवर्तन गरी सामन्ती राजतन्त्रको अन्त, राष्ट्रियताको रक्षा र गणतन्त्रको स्थापनाको अवधारणा सहित जनतामा राजतन्त्र विरोधी गणतन्त्रवादी राजनैतिक विचारको बीजारोपण पनि गर्‍यो। यसकासाथै सन् १९०५ को जारशाही विरोधी रुसी क्रान्तिले चीनमा राष्ट्रिय नवजागरण र साम्राज्यवाद विरुद्ध जनआक्रोशको नयाँ जनलहर पैदा गर्‍यो। यद्यपि तत्कालीन समयमा चीनको क्रान्तिकारी जमात कुनै एउटा केन्द्र र एउटा संगठित पार्टी अन्तरगत थिएन। तर, यसले समष्टिगत रूपमा राजतन्त्र र सामन्तवाद विरोधी भावना बढाउन व्यापक प्रभाव पार्‍यो।

बौक्सर विद्रोहपछि चीनमा क्रान्तिकारी उतार चढाव, असंगठित विद्रोह र दमनको चरण सुरु भयो, जसको उत्कर्ष थियो १० अक्टोबर १९११ को वोनचाङ् विद्रोह। यसले विद्रोहलाई नयाँ मोड दियो। दक्षिणी र दक्षिणपूर्वी चीनमा उठेको व्यापक विद्रोहले मञ्चू साम्राज्यको अन्तका लागि ठोस आधार प्रदान गर्‍यो। यो क्रान्ति चीनको ‘किनहाई क्रान्ति’ अथवा सन् १९११-१२ को क्रान्तिको नामबाट जानिन्छ। यस विद्रोहपछि एकपछि अर्को गर्दै चीनका अन्य प्रान्तहरू मञ्चू साम्राज्यबाट अलग्गिँदै गए र दक्षिणी प्रान्तमा सुनयात सेनको नेतृत्वमा गणतन्त्र स्थापना गरियो। तत्कालीन रानी सीकीले विद्रोहीको दमन गरी सत्ताको रक्षा गर्न सक्ने व्यक्तिको रूपमा प्रभावशाली सैनिक जनरल युआन सी काइलाई प्रधानमन्त्रीमा नियुक्त गरिन। तर, क्रान्तिकारीहरूबाट उसलाई गणतन्त्र चीनको राष्ट्रपति बनाउने प्रस्ताव आएपछि उ गणतन्त्रवादीहरूको पक्षमा उभियो र शक्ति विहीन क्वीङ्ग वंशको अन्तिम सम्राट ६ वर्षे बालक पू यी लाई सन् १९१२मा गद्दीच्युत गरियो। युआन सी काइले सन् १९१२ को गणतान्त्रिक संविधान अनुसार शासन गर्ने र राजधानी बेजिङबाट दक्षिणमा नानजिङमा सार्ने सम्झौता गरेकोले सुनयात सेनले राष्ट्रपतिबाट राजीनामा दिए र सैनिक जनरल युआन सी काइलाई राष्ट्रपति बनाइयो। यस प्रकार चीनमा २००० वर्ष पुरानो चिनिया सैन्यवादी सामन्ती साम्राज्यको अन्त गरी गणतन्त्रको स्थापना गरियो। यो आधुनिक चीनको निर्माण र चीनमा नयाँ जनवादी क्रान्तिको उठानका लागि आधार खडा गर्ने एउटा महान घटना थियो।

तर, क्रान्ति सधैं एकनास र सोझो उर्ध्वगामी बाटो भएर अगाडि बढ्दैन। यसमा विविध मोड, उतार चढाव आउने गर्छन्। यस क्रान्तिले पनि यस्तै अवस्था बेहोर्नु पर्‍यो। राज्यको शक्ति उत्तर र दक्षिणी केन्द्रमा बाँडियो। उत्तरमा विभिन्न रजौटा लगायत सामन्ती प्रतिक्रियावादी सैन्य जनरलहरूको नियन्त्रण थियो भने दक्षिण, दक्षिण पूर्व र केन्द्रीय चीनमा क्रान्तिकारीहरूको गणतन्त्रात्मक शक्तिको शासन। बलियो सैन्य बल भएको युआन सी काइले गणतन्त्रको राष्ट्रपति बन्न गरेको सम्झौता अनुसार राजधानी नानजिङमा सार्न आलटाल गरेपछि र सत्ताको स्वरूप सैन्यवादी एकतन्त्रीय शासन हुने वा पूँजीवादी प्रजातान्त्रिक गणतन्त्र हुने ? विषयमा टकराबको स्थिति उत्पन्न भयो र दुइटै शक्तिबीच संघर्ष नयाँ चरणमा प्रवेश गर्‍यो। सन् १९१३ मा गणतन्त्रवादीहरूले अर्को विद्रोह गरे। सामन्ती प्रतिक्रियावादी सैन्य बल र साम्राज्यवादीहरूको संयुक्त बलद्वारा विद्रोह दबाइयो। सुनयात सेन नेतृत्वको चाइनीज नेशनल पीपुल्स पार्टी (कोमिङताङ) छिन्नभिन्न भयो। सुन यात सेनको जापान पलायनपछि युआन काइ सीले आफैलाई सम्राट घोषित गर्‍यो। तर, साम्राज्यवादीहरूको दबाबमा त्यस पदमा टिक्न सकेन र पुनः राष्ट्रपति बन्यो। उसको मृत्युपछि वारलौर्ड खु सीचाङ् बेजिङ गणतन्त्रको राष्ट्रपतिको रूपमा बेजिङमा राज गर्न थाल्यो।


Read Previous

«

Read Next

»