‘वामपन्थीले प्रयोग गर्ने केही चर्चित राजनीतिक शब्दावली’

अडोर्नो (Adorno), थियोडोर (१९०३-६९)- जर्मन दार्शनिक तथा कलाको समाजशास्त्री, वामपन्थी आमूलवादी दृष्टि राख्ने व्यक्ति; फ्रैंकफर्ट धाराका एक प्रमुख प्रतिनिधि। अडोर्नोका विचारहरुले जर्मन नवहेगेलवाद तथा पुरानो संस्कृतिको सर्वखण्डनवादी समीक्षा (२०औं शताब्दी) को संधिकालमा मूर्त रुप ग्रहण गरेका थिए। अडोर्नोको सामाजिक दर्शनानुसार पश्चिम यूरोपेली संस्कृतिको होमरको समयबाट आरम्भ हुने इतिहास ‘निष्फल सभ्यता’को इतिहास, मानिसको गहन भइरहेको अन्य संक्रमणको समरुप उसको ‘व्यक्तिकरण’को इतिहास हो।

अडोर्नोको सिद्धान्तका दार्शनिक पूर्वाधारहरुको उनको कृति ‘ज्ञान-प्रसारणको द्वन्द्वात्मकता’ (१९४७) मा प्रतिपादन गरिएको छ, जसलाई उनले एम. होर्खाइमेरसँग मिलेर लेखेका थिए। आफ्नो कृति ‘नयाँ संगीतको दर्शन’ (१९४९) मा उनले यो सिद्धान्तलाई नवीनतम् पश्चिमी यूरोपेली संगीतको विकासमा लागू गरेका थिए। ‘ज्ञानको सिद्धान्तको अधिसमीक्षाको बारेमा’ (१९५६) तथा ‘निषेधात्मक द्वन्द्ववाद’ (१९६६) शीर्षक कृतिहरुमा फ्रैंकफर्ट धाराका अनुयायीहरुको इतिहासको निषेधात्मक- निराशावादी दर्शनलाई सार्वभौमिक निषेधको रुपमा प्रस्तुत गरिएको छ र द्वन्द्ववादको परिभाषा सम्पूर्ण प्रदत्तको विघटन, विनाशको विधिको रुपमा मात्र गरिएको छ।

अडोर्नोको सिद्धान्त बीसौं शताब्दीको सातौं दशकमा ‘वामपन्थी उग्रवादी’, भद्दा समाजशास्त्रीय तथा सर्वखण्डनवादी विचारहरुको प्रभुत्वको समयमा लोकप्रिय थियो, तर नयाँ वामपन्थको विचारधाराको पतन भएपछि त्यसले आफ्नो प्रभाव गुमायो।

अतर्कबुद्धिपरक (Irrational) – विवेक, चिन्तनको आधारमा अबोधगम्य, तार्किक अवधारणाहरुमा व्यक्त हुननसक्ने। अतर्कबुद्धिवादमा अतर्कबुद्धिपरकले विशेष, विवेकबाट वंचित शक्तिहरुको प्रतिनिधित्व गर्दछ, जुन मानौं मानवचित्त र स्वयं सत्तासम्मको आधारमा निहित हुन्छन्।

अतर्कबुद्धिवाद (Irrationalism) – १) एउटा दार्शनिक मत, जसले संज्ञानमा विवेक, चिन्तनको शक्ति सीमित हुन्छ, संज्ञानको मुख्य विधि अन्तःप्रज्ञा, अनुभूति, सहजवृत्ति, आदि हुन् भन्ने घोषित गर्दछ। अतर्कबुद्धिवादले यथार्थलाई अराजकतापूर्ण, नियमसंगतिले रहित, संयोगको खेल र अचेतन संकल्पको अधीन मान्दछ। अतर्कबुद्धिवादी मत स्वाभाविक रुपमा समाज विकासका युगान्तरकारी मोडहरुको अवधिमा प्रकट हुन्छन् र तिनीहरुलाई आम रुपमा तार्किक ढंगबाट रचित सुसंगत प्रणालीहरुको रुपमा होइन, बरु सुक्तिहरुमा निरुपित अलग-अलग विचारहरु तथा मनोवृत्तिहरुको रुपमा प्रस्तुत गरिन्छ। अतर्कबुद्धिवाद १९औं शताब्दीको अन्त तथा २०औं शताब्दीको आरम्भमा, पूँजीवादको साम्राज्यवादमा परिणत हुने अवधिमा, पुनर्जीवित भयो, जब बुर्जुवा उदारतावादी र सुधारवादी आदर्शहरु र पूँजीवादलाई तर्कबुद्धिसंगत बनाएर र प्राकृतिक-वैज्ञानिक तथा प्राविधिक ज्ञानको उपयोग गरेर त्यसलाई सुधार्ने आशाहरुको भवन ढलेको थियो। यस अवधिमा कैयौं अतर्कबुद्धिवादी मत प्रकट भए, जसमा जीवन-दर्शन एउटा थियो। अतर्कबुद्धिवादको एउटा अर्को रुपान्तरण – अस्तित्ववाद – बीसौं शताब्दीको चौथो दशकमा प्रकट भयो। अतर्कबुद्धिवादी विचारहरु फ्रायडवादमा पनि सुस्पष्ट रुपले व्यक्त भए। अवैज्ञानिक धाराको रुपमा अतर्कबुद्धिवाद प्रतिक्रियावादी, फासिष्ट सिद्धान्तहरुको आधार बनेको थियो, जसले वैज्ञानिक ज्ञानलाई अस्वीकार गर्दथे र नेताको, “फ्यूहरर” का भविष्यवाणीहरुको तथा “रगत र जाति” को आवाजको पक्षपोषण गर्दथे। अतर्कबुद्धिवाद वर्तमानकालीन बुर्जुवा दर्शन, समाजशास्त्र तथा मनोविज्ञानमा यो वा त्यो रुपमा व्यापक रुपले प्रचलित छ।

२) नीतिशास्त्रमा अतर्कबुद्धिवाद नैतिकताको स्वरुपको व्याख्या गर्ने एउटा विधि हो, जुन नैतिकताका अनेक बुर्जुवा सिद्धान्तहरुको विशेषता हो। यस बेला अतर्कबुद्धिवादले विभिन्न धाराहरुलाई (अस्तित्ववाद, नवप्रोटेस्टेन्टवाद, मानवतावादी नीतिशास्त्र, आत्मसिद्धिको नीतिशास्त्र, आदिलाई) एउटा विशेष धारामा एकीकृत गर्दछ, जुन नैतिक आकारवाद तथा प्रकृतिवादसँगसँगै अस्तित्वमान छ। अतर्कबुद्धिवादले प्रत्येक व्यक्तिको कुनै पनि नैतिक स्थिति वा अवस्था विशिष्ट हुने गर्दछ भन्ने कुरा घोषित गर्दछ। यसको आधारमा यो निष्कर्ष निकालिन्छ कि नैतिकताको सामान्य सिद्धान्त निरुपित गर्न अथवा तर्कबुद्धिमुलक चिन्तन र विज्ञानको आधारमा तिनीहरुको औचित्य सिद्ध गर्न असंभव छ। जुन मानौं नैतिकतामा लागू हुन सक्दैनन्, किनभने तिनीहरुले विविधतापूर्ण जगतमा केवल अमूर्त तथा सामान्यलाई मात्र हेर्दछन्। समाजको उद्देश्यपूर्ण नैतिकतालाई, जसले केही न केही व्यावहारिक आवश्यकताहरुको पूर्ति गर्दछ, अतर्कबुद्धिवादीले असत्य घोषित गर्दछन्। उनीहरुको विचारमा मानिसको समग्र अस्तित्वजस्तै वास्तविक नैतिकताको व्याख्या गर्न सकिंदैन, किनभने त्यो प्रकृति तथा समाजका नियमहरुको अधीन हुँदैन। नैतिकतामा मानिसले वस्तुगत अधीनताको तुलनामा आफूलाई नितान्त स्वतन्त्र सत्ताको रुपमा स्थापित गर्दछ। यसरी अतर्कबुद्धिवाद नैतिकताको अतिसापेक्षवादी, संकल्पवादी बोधमा, मानिसद्वारा आफ्नो नैतिक स्थितिको छनौट गर्नमा कुनै पनि वस्तुगत महत्वको अस्वीकृतिमा पुग्दछ। यद्यपि अतर्कबुद्धिवादमा केही धाराहरुले बुर्जुवा नैतिकताको पक्षपोषक स्वरुप, जडसूत्रवाद, उपयोगितावादको आलोचना गर्दछन्, तर तिनीहरुले आप्mना पक्षपोषकहरुको इच्छा वा अनिच्छाको बावजूद दुई विश्वदृष्टिकोणहरुको बीचको संघर्षमा व्यक्तिहरुलाई भ्रममा पार्न सहायता गर्दछन्।

अताराक्सिया (Ataraxia) – आत्मिक प्रशान्तता तथा अविचलताको अवस्था, जसलाई केही यूनानी दार्शनिकहरुका अनुसार ज्ञानीले उपलब्ध गर्न सक्दछन्। डेमोक्रिटस, एपीक्यूरस, लूक्रेटियसका अनुसार अताराक्सियासम्म पुग्ने मार्ग विश्वको संज्ञान, डरमाथि विजय, चिन्ताबाट मुक्ति हुँदै अगाडि बढ्दछ। संशयवादीहरुले यो सिकाए र कि अताराक्सिया निर्णय दिनबाट हटेर उपलब्ध गर्न सकिन्छ। स्टोइकहरुले उदासीनताको आफ्नो सिद्धान्तलाई जुन भइरहेको छ, त्यसको आनन्द तथा शोकप्रति उपेक्षाभावको रुपमा विकसित गरेका थिए। मार्क्सवादी नीतिशास्त्रले जीवनप्रति चिन्तनात्मक प्रवृत्तिलाई अस्वीकार गर्दछ र जीवनमा व्यक्तिको क्रियाशील स्थितिलाई आदर्श मान्दछ।

अतिकल्पना (Fantasy) – कल्पना, जसको विशेषता कल्पित विचारहरु तथा बिम्बहरुको शक्ति, विविधता तथा असामान्यता हो।

अतीतका अवशेष (Survivals of the Past) – सामाजिक-आर्थिक सम्बन्धहरु, विचारहरु, धारणाहरु, नैतिकताहरु, परम्पराहरुका अवशिष्ट, जुन पुरानो समाजबाट उत्तराधिकारको रुपमा प्राप्त हुन्छन्। अतीतका अवशेषमाथि नियन्त्रण प्राप्त गर्ने प्रश्न समाजवादअन्तर्गत विशेष रुपले तीव्र हुन्छ। किनभने तिनीहरु सबै (बुर्जुवा, पितृसत्तात्मक, सामन्ती) निजी स्वामित्व तथा शोषणमाथि आधारित सामाजिक-आर्थिक संरचनाहरुबाट आएका छन् र त्यसैकारण समाजवादी सामाजिक सम्बन्धहरु तथा समाजवादी विचारधारासँग तिनीहरुको असमाधेय अन्तर्विरोध हुन्छ। समाजवादी सामाजिक संरचनामा अतीतका अवशेषको बाहक वर्ग होइन, बरु आम रुपमा अलग-अलग मानिसहरु वा मानिसहरुका समूह हुन्छन्। त्यसैकारण एकातिर, समाजवादी समाजमा सामाजिक सम्बन्धहरुको विकासका मुख्य अन्तर्वस्तु तथा प्रवृत्तिहरु र अर्कोतिर, अतीतका अवशेषको बीचमा अन्तर्विरोध वर्गहरुको बीचमा सम्बन्धहरुको क्षेत्रबाट समाज तथा व्यक्तिको पारस्परिक क्रियाको क्षेत्रमा स्थानान्तरित हुन्छ।

अतीतका अवशेष समाजविरोधी आचारण-व्यवहार, समाजवादी कानूनहरु तथा कम्युनिष्ट नैतिकताको उल्लंघनमा सर्वाधिक स्पष्ट रुपले प्रकट हुन्छन्। तिनीहरुका रुपहरु हुन् : समाजका हितहरुको उपेक्षा (नास्तिवाद, सिद्धान्तहरु तथा आदर्शहरुको अभाव, कूपमण्डूकता, सामाजिक कर्तव्यप्रति कोरा औपचारिक प्रवृत्ति), सामाजिक जीवनका प्रतिमानहरुको उल्लंघन (नोकरशाही, आत्मोन्नतिवाद, समूह वा व्यक्तिका हितहरुको उपेक्षा, अनुशासनहीनता, अनुत्तरदायित्व, आदि), प्रत्यक्ष शत्रुता (अपराध, परजीविता)। अतीतका अवशेषका यी सबै अभिव्यक्तिहरु समाजवादी समाजका स्वरुप र मुख्य प्रवृत्तिहरुको विपरीत छन्। अतीतका अवशेषका अहिले पनि कैयौं वस्तुगत आधार छन्, किनभने समाजवादका परिस्थितिहरुमा समाजको पूर्ण समरुपता, त्यसका सम्पूर्ण सदस्यहरुको संस्कृति तथा नैतिकता, क्रियाकलाप तथा चेतनाको एउटैजस्तो उच्चस्तर अझै उपलब्ध हुँदैन। अतीतका अवशेष कायम रहने अथवा अस्थायी रुपमा पुनर्जीवनसम्मको (निजी स्वामित्वको मनोवृत्ति, व्यक्तिवाद, आदिको) एउटा कारण सामाजिक-आर्थिक प्रबन्ध व्यवस्थाका ती सिद्धान्तहरुको उल्लंघन हो, जुन समाजवादी सामाजिक सम्बन्धहरुका विशेषता हुन् (भौतिक प्रोत्साहनहरुको सिद्धान्त, व्यक्तिगत तथा सामाजिक सहसम्बन्ध, जनवादी केन्द्रियतावाद, आदि)। पूँजीवादी प्रणालीको अस्तित्व र समाजवादी देशहरुमा सबभन्दा पिछडिएका भागहरुमाथि बुर्जुवा प्रचारको प्रभाव पनि अतीतका अवशेष कायम रहनमा सहायक हुन्छन्।

अद्वैतवाद (Monism) – एउटा दार्शनिक मत, जसानुसार सम्पूर्ण अस्तित्वको एउटै स्रोत छ। भौतिकवादीले पदार्थलाई जगतको आधार मान्दछन्, जबकि आदर्शवादीले चेतना, विचारलाई त्यसको आधार मान्दछन्। हेगेलको दर्शन आदर्शवादी अद्वैतवादको सबभन्दा बढी सुसंगत धारा हो। विज्ञानसम्वत तथा सुसंगत अद्वैतवाद द्वन्द्वात्मक भौतिकवादको विशेषता हो, जसले यो मान्दछ कि जगत भौतिक हो, जगतमा सम्पूर्ण परिघटनाहरु गतिशील पदार्थका विभिन्न रुपहरु हुन्। मार्क्सवादी दर्शनमा भौतिकवादलाई समाजिक परिघटनाहरुमाथि पनि लागू गरिन्छ। अद्वैतवादको विपरीत द्वैतवाद हो। –दर्शन विश्वकोशबाट साभार


Read Previous

«

Read Next

»